कर्णालीका सुत्केरी महिलाले अब ४ हजार ८ सय रुपैयाँ पाउने

कर्णालीका सुत्केरी महिलाले अब ४ हजार ८ सय रुपैयाँ पाउने

सुर्खेत : नियमित चार पटक गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुने कर्णालीका सुत्केरीले अब ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसुती हुने महिलालाई पोषण बापत थप २ हजार रकम दिने भएपछि सुत्केरी महिलाले पाउने रकम ४ हजार ८ सय रुपैयाँ पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत मंसिर महिनादेखि लागु गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको हो ।
यो व्यवस्थासँगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसुती हुन आउने महिलाले ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायात बापत २ हजार रुपैयाँ र चार पटक गर्भ जाँच गरेबापत ८ सय रुपैयाँ संघीय सरकार मार्फत पाउँदै आएका थिए । कर्णालीका महिलाहरू अझै पनि घरमै सुत्केरी हुने गरेको भन्दै स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन प्रोत्साहन स्वरुप प्रदेश सरकारले सुविधा थपेको हो ।
चालु आर्थिक वर्षको साउन एक गते देखि नै सुत्केरी भएका महिलाहरूलाई यो रकम प्रदान गरिने भएको छ । ‘कर्णालीमा रहेका विपन्न गरिब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौं,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘स्वास्थ्य संस्थामा प्रसुती हुन महिलाहरूलाई प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको हो ।’
पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसुती हुन आउन महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युदरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । सामाजिक विकास मत्रालयका स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले यस कार्यक्रम अन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजक मार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने छ । उनले भने, ‘यस कार्यक्रम गर्न चालु आर्थिक वर्षमा मन्त्रालयले चार करोड बजेट छुट्याइएको छ ।’
सुत्केरी महिलालाई प्रदेश सरकारले उपलब्ध गराएको पोषण वापतको थप २ हजार रुपैयाँ सुर्खेत स्थित प्रदेश अस्पतालले भने सबैलाई नदिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेश अस्तपतालमा सुत्केरी भएका गरिब र विपन्न महिलालाई मात्र यो रकम प्रदान गरिने छ ।

प्रतिक्रिया