एमसीसी रोक्न सभामुखलाई ज्ञापनपत्र

एमसीसी रोक्न सभामुखलाई ज्ञापनपत्र

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न माग गर्दै विभिन्न साना ९ राजनीतिक दलले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन्।   मंगलबार दिउँसो प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई ९ दलको तर्फबाट सीपी गजुरेलले ज्ञापनपत्र बुझाएका हुन्।  ९ दलको विज्ञप्तिमा एमसीसी राष्ट्रघाती भएकाले त्यसलाई स्वीकार गर्नु नहुनेमा जोड दिइएको छ ।

सत्तारुढ दलभित्रै एससीसी प्रस्तावमाथि चर्को विवाद छन्। प्रधानमन्त्री केपी ओली सम्झौता अनुमोदन गर्न हतारिए पनि पार्टीभित्र यसका लागि अझै साझा सहमति बन्न सकिरहेको छैन। पार्टीभित्र सहमतिको खोजीका लागि नेकपाले बनाएको अध्ययन कार्यदलले निर्धारित समयभित्र काम सक्न नसक्ने भन्दै थप समय माग गर्ने भएपछि सदनबाट यो सम्झौता अनुमोदन हुन थप समय लाग्ने देखिएको हो। नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न पार्टीभित्रै अध्ययन कार्यदल गठन गरेको थियो।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्धय भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली कार्यदलका सदस्य छन्। १९ माघमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले यस्तो कार्यदल गठन गरेको थियो। १० दिनभित्र एमसीसी सम्झौताका विषयमा तथ्य–सत्य अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि पार्टीले निर्णय लिने नेकपाले बताएको थियो।

कार्यदलले उक्त समयावधिमा काम गर्न नभ्याउने भन्दै केही दिन कार्यदलको म्याद थप गर्न माग गर्ने तयारी गरेको छ।नेकपा सचिवालय बैठक आइतबार नै बस्ने भने पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्ताका कारण बैठक स्थगित हुन पुगेको थियो। अर्को बैठकको मिति तय भइसकेको छैन। 

कार्यदलले एमसीसीका बारेमा अध्ययन सामग्री संकलन गर्ने, एमसीसीको उदय कसरी भयो, त्यसको विकास कसरी भयो, त्यसको वर्तमान अवस्था के छ ? नेपाल र एमसीसीबीच सम्झौताको प्रकृति के हो ? जस्ता दस्तावेज खोजी गरी अध्ययन गर्ने र त्यसपछि मात्र छलफलको कार्यसूची बनाउने अहिलेसम्मका कार्यदलका दुई बैठकमा छलफल भएको छ।  

प्रतिक्रिया