महिला कैदीमा मानसिक समस्या

महिला कैदीमा मानसिक समस्या

कारागारका कैदीहरुको मानसिक अवस्थाबारे जानकारी दिँदै प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशिष दत्त लगाएत । तस्विरः हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख :
विभिन्न मुद्वामा कैद सजाय भुक्तान गरिएका महिला कैदीहरुमा मानसिक समस्या देखिएको छ । जिल्ला कारागारमा रहेको १२ जना कैदी र एक जना थुनुवा महिला मध्ये ९ जनामा आत्तिने र दुई जनामा डिप्रेसनको समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परिक्षणमा बहुविवाहको मुद्धामा सजाय भोगिरहेका महिलाहरुमा बढि समस्या देखिएको हो । तीन दिनसम्म कैदीबन्दीहरुको मानसिक स्वास्थ्य परिक्षण, अपराध हुँदाको अवस्था र मुद्वा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे अध्ययन गरिएको थियो । अध्ययनका क्रममा बहुविवाहको मुद्धामा सजाय भोगिरहेका महिला कैदीहरुमा मानसिक समस्या धेरै देखिएको नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशिष दत्तले बताए ।
‘कानुनत् दोस्रो विवाह सोत बदर हुन्छ,’ दत्तले भने ‘कैद भुक्तान भईसकेपछि श्रीमानसँगै बस्ने नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाको वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डर महिलाहरुमा देखिएको छ, जसका कारण महिला कैदीहरु मानसिक समस्याबाट ग्रसित छन् ।’ लागु औषध ओसार–पसार तथा दुव्र्यसनी मुद्वामा सजाय भोगिरहेका कैदीहरुमा आत्तिने समस्या देखिएको उनले बताए । ‘आत्तिने र मानसिक समस्याका बिरामीहरुलाई औषधी सेवन गर्न सुझाव दिएका छौ, उनले भने ‘दैलेखमा मात्र नभई मुलुकभर मानसिक स्वास्थ्यको परिक्षण जरुरी छ ।’
मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगर्त कैदीबन्दीहरुलाई लक्षित गरेर मानसिक स्वास्थ्य परिक्षण, परामर्श तथा औषधी उपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए । अब नियमित रुपमा कैदीबन्दीहरुको मानसिक स्वास्थ्य परिक्षण गरिने डा.पन्तले बताए । बहुविवाह गरेका महिलाहरु कैद भुत्तान गरि समाजमा जाँदा समाजबाट अपहेलित हुने डरले मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
दैलेख जिल्ला कारागार ८० जना पुरुष र २० जना महिला गरी सय जनाको क्षमता हो । तर, अहिले कैदी र थुनुवा गरि एक सय ४२ जना छन् । दुई जना बालबालिका आश्रीत रहेको जिल्ला कारागार कार्यालयले जनाएको छ । ती बालबालिका आमाबुबासँगै कैद जीवन बिताउन बाध्य भएको हुन् ।

प्रतिक्रिया