दिल्ली हिंसा : मृतकको संख्या ७ पुग्यो

दिल्ली हिंसा : मृतकको संख्या ७ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता संशाेधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि ढु‌ंगा प्रहार गर्दै कानुनको समर्थक पक्ष तस्बिर : रोयटर्स

नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन(सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५ जना घाइते भएको बताइएको छ।

संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित ७ जनाको मृत्यु भएको हो।मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो। सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए।

सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो। त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए। प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए। उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो। प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो।

प्रतिक्रिया