बाल अधिकार, बाल विवाह तथा मर्यादित महिनावारीबारे अन्तरक्रिया

बाल अधिकार, बाल विवाह तथा मर्यादित महिनावारीबारे अन्तरक्रिया

दैलेख फागुन २० ।
जिल्लाको महाबु गाउँपालिकामा बाल अधिकार, बाल विवाह तथा मर्यादित महिनावारीबारे अन्तरक्रिया सम्पन्न भएको छ । महाबु गाउँपालिका, राधा पौडेल फाउन्डेशन, जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित अन्तरक्रियामा बाल अधिकार, बाल विवाह तथा मर्यादित महिनावारी तथा बाल हेल्पलाइन १०९८ बारे छलफल गरिएको सामाजिक सेवा केन्द्र (सोसेक)का बाल अधिकार अनुगमन अधिकृत प्रभा विकले जानकारी दिए ।
महाबु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल लगाएत गाउँपालिकाका जनप्रतिनीधि र सेवाग्राहीहरु सहभागि कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र सोसेकका सहायक निर्देशक दुर्गा गिरीले मर्यादित महिनावारीबारे सहभागिलाई जानकारी गराए । बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बाल हेल्पलाइनले प्रदान गर्ने सेवा लगाएतबारे जानकारी गराइन् ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बाल अधिकार संरक्षणमा जोड दिदै छाउपडी प्रथौ मान्ने र छाउगोठमा बसेको पाईएमा कानुनी दायरामा ल्याउने बताए । उनले उमेर नपुगी विवाह नगर्न आग्रह गरे । महाबु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले बाल विवाह विरुद्ध प्राथमिकताका साथ अभियान सञ्चालन गर्ने बताइन् । उनले महिनावारीलाई मर्यादित बनाउन सचेतामुलक कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
महाबु गाउँपालिकाका ६ वटै वडामा बाल विवाह गर्न नदिने, महिलाहरु महिनावारी भएको बेला सुरक्षित कोठामा राख्ने, बाल अधिकारको विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, जोखिममा परेका बालबालिका र हिंसामा परेका महिलाहरुको अधिकारमा एकजुट हुने अन्तरक्रियाका सहभागिले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया