मिडिया उपयोगिताबारे छलफल

मिडिया उपयोगिताबारे छलफल

दैलेख : जातीय विभेद समस्या न्यूनीकरण गर्न मिडियाको उपयोगिता विषयमा दैलेखमा सरोकारवालावीच खुला अन्तरक्रिया सहित छलफल भएको छ । मार्च २१ तारिकमा मनाइने अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन ५५ औं दिवसको अवसरमा सुन्दर नेपाल संस्था, इन्सेक र राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा शनिवार दैलेखमा आयोजित कार्यक्रममा त्यस्तो अन्तरक्रिया भएको हो ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनारले दलित समुदाय माथि भएका जातीय विभेद घटना मात्र नभएर जनजीविकाका सवाल उठाउन सके मात्र दलित समुदायलाई विकासको मूलधारमा ल्याउन सकिने बताए ।
नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकले नेपालका दलित समुदाय माथि सामाजिक रुपमा जातीय विभेद र आर्थिक रुपमा वर्ग विभेद दोहोरो शोषणमा परेको बताए ।त्यसबखत नारायण नगरपालिका–३ का वडासदस्य हर्कबहादुर नेपालीले नेपालमा जात व्यवस्थाको प्रभाव राजनीति र स्थानीय सरकार सञ्चालनमा समेत परेको औल्याए । ‘दलित समुदायबाट जनप्रतिनिधि छौं तर हाम्रो प्रस्तावको विषयमा छलफल हुदैन’ उनले टिप्पणी गरे ।
महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले जातीय विभेद समस्याहरु सञ्चार माध्यममा आएका छन् तर दलितहरुको जीविका संघर्षको पाटो मिडियाहरुले केलाउनुपर्ने सुझाव दिइन् ।सिल्पी समाजका संयोजक बखत नेपालीले दलित समुदायको शैक्षिक विकास र आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने औल्याए । त्यसबखत पत्रकार बिशाल सुनारले पुख्र्यौली पेशा आधुनिकीकरण गर्न नसकेको कारण दलित समुदायको आर्थिक स्तर खस्कँदै गएको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष पृथ बयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक यज्ञराज थापाले दलित सवाल र मिडियाको भूमिका विषयमा प्रकाश पारेका थिए । दलित अगुवा मोहन सुनार, व्यवसायी दुर्गबहादुर सुनार, राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला उपाध्यक्ष टोपबहादुर सुनारले पनि आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया