रुकुम घटना : डोरीले हात बाँधेर बिरोध प्रर्दशन

रुकुम घटना : डोरीले हात बाँधेर बिरोध प्रर्दशन

दैलेख जेठ १६ गते ।
रुकुममा जेठ १० गते भएको नरसंहारको घटनाका दोषीहरुलाई कडा कारवाहीको माग गर्दै राष्टिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले दैलेखमा एउटै डोरीले हात बाँधेर जुलुस प्रदर्शन गरेका छन् । रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा त्यो दिन जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायतका ५ जनाको बर्बतापूर्वक हत्या र १ जना बेपत्ता पारिएको घटनाको विरोध स्वरुप प्रदर्शन गरिएको राष्टिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनारले बताउनुभयो ।
जातीय अन्त्य गर, दलितहरुलाई पनि बाँच्न देऊँ, नवराज बिक र उनका साथीहरु मारिए पनि न्याय नमरोस् भन्ने बाक्यांश लेखिएका नारा छातिमा टाँसेर दलित अगुवाहरुले हातमा डोरी बाँधेर जुलुस् गरेका हुन् ।
देवकोटाचोकबाट सुरु भएको जुलुसले पुरानो बजार, लोकतान्त्रिक चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
राष्ट्रिय दलित मुक्ति संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले प्रमुख जिल्ला अधिकारी कटेललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, वेपत्ता गोबिन्द शाहीको खोजी गरिनुपर्ने र जातीय विभेद अन्त्यका लागि सरकारका कार्यक्रम ल्याउनुपर्ने माग राख्नुभयो ।
ज्ञापनपत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले रुकुममा जातीय विभेदका कारण भएको पासबिक हत्या घटनाको सरकारले सुक्ष्मढंगले अनुसन्धान गरिरहेको दोषीलाई कडा कारवाही हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।
सिल्पी समाजका संयोजक बखत नेपाली, पत्रकारहरु बिशाल सुनार, हिक्मत नेपाली, कृष्ण दैलेखी, टोपेन्द्र सोनी, अधिकारकर्मीहरु मोहन सुनार, पबित्रा बादी लगायतको सहभागितामा डोरीले हात बाँधिएको जुलुस् प्रदर्शन गरिएको हो ।
अन्तरजातीय प्रेमसम्वन्धमा रहेकी कुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी १७ वर्षीया एक किशोरीले भागी विवाहको लागि बोलाइएको भनिएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायत उनका साथीहरु माथि सोती गाउँमा आक्रमण गरी नरसंहार गरिएको थियो । नवराज लगायतलाई कुटेर डोरी हात बाँधी भेरी नदीमा फाल्ने चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतका १८ जना पक्राउ परेका छन् भने २ जना फरार भएका छन् । पीडित पक्षले वडाध्यक्ष मल्ल लगायत २० जना बिरुद्ध परेको किटानी जाहेरी दिएको छ । घटनालाई कमजोर पार्न रुकुमपश्चिका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, कर्णाली प्रदेशसभाका सदस्य गोपाल शर्मा ‘आर्ट’ र चौरजाहरी नगरपालिकाका मेयर बिशाल शर्मा जस्ता बिशिष्ट अधिकारीहरु नै आरोपितको बचाउमा बोल्न थालेपछि घटनाको सशक्त बिरोध भइरहेको छ ।

प्रतिक्रिया