दैलेखका तीन क्वारेन्टाइनमा सेनाको सुरक्षा

दैलेखका तीन क्वारेन्टाइनमा सेनाको सुरक्षा

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २१ गते । 
दैलेखका तीन वटा क्वारेन्टाइनमा सेनाले सुरक्षा दिइरहेको छ।  नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका सेनानी गणेशराज पन्तका अनुसार जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका- ६ को फुलबारी विद्या मन्दिरमा बनाइएको क्वारेन्टाइनमा बसेकालाई सेनाले सुरक्षा दिइरहेको छ।  यस्तै महाबु गाउँपालिका-१ स्थित जयन्ती मावि खरिगैरा, वडा नम्बर ४ स्थित गैडाबाँज माविमा बसेकालाई सेनाले सुरक्षा दिइरहेको सेनानी पन्तले बताए।  

‘तीन वटा क्वारेन्टाइनबाहेक दैलेख र सुर्खेतको सिमानामा स्थापना गरिएको हेल्थ डेस्कमा समेत सेना परिचालन गरेका छौँ,’ सेनानी पन्तले भने। जिल्ला सुरक्षा समितिले निणर्य गरेर क्वारेन्टाइनमा सेनाले सुरक्षा दिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।  

क्वारेन्टाइनमा बसेका व्यक्ति भाग्न थालेपछि सेनाले सुरक्षा दिएको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुुर शाहीले बताए।  महाबु गाउँपालिकाले अहिले १५ वटा सामुदायिक विद्यालय, २ निजी  विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ।  अध्यक्ष शाहीका अनुसार गाउँपालिका भित्रका विभिन्न वडाका खाली स्थानमा ५० वटा टेन्ट निर्माण गरेर भारतबाट आउने व्यक्तिलाई राखेको छ ।

दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या
दैलेखमा दरबन्दी अनुसारको प्रहरी कर्मचारी नहुँदा समस्या देखिएको छ। दरबन्दी अनुसारको प्रहरी कर्मचारी नहुँदा क्वारेन्टाइनको सुरक्षामा समस्या देखिएको हो।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार जिल्लामा अहिले ७८ जनाको दरबन्दी रिक्त छ।  दैलेखमा कुल ३ सय ८६ जनाको दरबन्दी हो। अहिले १ सय ३२ जनालाई क्वारेन्टाइनको सुरक्षाका लागि खटाइएको प्रहरी निरीक्षक आचार्यको भनाइ छ।  

‘यो समयमा दरबन्दी अनुसारको प्रहरी कर्मचारी नहुँदा समस्या परिरहेको छ,’ आचार्यले भने। प्रहरी नहुँदा नेपाली सेना र सशस्त्र प्रहरी बलले क्वारेन्टाइन तथा आइसोलेसनको सुरक्षा दिइरहेका छन्। खाली दरबन्दी कायम गरेर प्रहरी नपठाउँदा त्यसको असर नागरिकले लिने सेवामा परेको छ।    

प्रतिक्रिया