कोरोना भाइरस विरुद्धको विश्वको पहिलो खोप तयार, रुसद्वारा मान्यता

कोरोना भाइरस विरुद्धको विश्वको पहिलो खोप तयार, रुसद्वारा मान्यता

काठमाडौँ साउन २७ गते । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको बताएको बीबीसीले जनाएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् । बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब ‘मास भ्याक्सिनेसन’ सुरु गर्ने बताएको थियो । डब्लुएचओकी प्रवक्ताले भने अगस्ट ४ मा पत्रकार सम्मेलनमा ‘कसैले केही नयाँ चिज पत्ता लगायो भन्ने खबर राम्रो हो तर काम गर्नसक्ने भ्याक्सिन बनाउने कुनै उपाय पत्ता लगाउनु र सबै चरणका परीक्षण पार गर्नुमा ठूलो भिन्नता छ’ भनेकी थिइन् ।

रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ ।

कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमशः अमेरिका,ब्राजिल र भारतमा रहेको जोन हप्सिकन विश्वविद्यालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया