भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ भदाै १५ गते । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् । पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । उनलाई अगस्ट १० मै दिल्लीस्थित आरआर अस्पताल भर्ना गरिएको थियो ।

झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसदमा निर्वाचित भएका थिए । राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अँगालेका थिए । उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुन: निर्वाचित भएका थिए ।

उनी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया