राहत पाउँदाको खुसी (भीडियो सहित)

राहत पाउँदाको खुसी (भीडियो सहित)

दैलेख कात्तिक २३ गते ।
ठाटीकाँध गाउँपालिकाका बाढी र पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत प्रदान गरिएको छ । गत भदौ पहिलो साता अबिरल बर्षातसँगै आएको पहिरोका कारण पूर्ण र आंशिक क्षती भएका पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत वितरण गरिएको हो । पहिरोका कारण आंशिक रुपमा घरजग्गा क्षती भएका एक सय २१ घर परिवारलाई खाद्यान्न सहित राहत प्रदान गरिएको हो ।
डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न वितरण गरेको हो । ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का ४८, वडा नम्बर ३ का ७२ र वडा नम्बर ६ का एक घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार ३० केजी चामल, दुई केजी नुन, तीन केजी दाल र दुई लिटर तेल सहयोग प्रदान गरिएको संस्थाका प्रभाकुमार विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार पहिरोले घर भत्किएर विस्थापित भएका ७२ घरपरिवारलाई नगद सहयोग गरिएको छ । संस्थाका अनुसार गाउँपालिका र वडा कार्यालयहरुको समन्वयमा विस्थापित घरपरिवारहरुलाई प्रति परिवार १५ हजारका दरले रकम प्रदान गरिएको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर १ का १२, २ का १०, ३ का १८, ४ का १३, ५ का १७ र ६ का २ घरपरिवारले १५ हजार रुपैयाँका दरले नगद सहयोग पाएका हुन् । साउन र भदौमा गएको पहिरोका कारण पूर्ण र आंशिक क्षती भएका घरपरिवारलाई खाद्यान्न सहित नगद सहयोग गरिएको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।
पहिरोका कारण खाद्यान्न लगाएतका समस्या झेल्दै आएका पीडितहरुले खाद्यान्न पाएपछि निकै राहत महशुस गरेका छन् । स्थानीयले पहिरोका कारण थुप्रै समस्या झेल्नु परेको बताउँछन् । चार्डवार्डको समयमा पाएको राहत सहयोगले घरपरिवारको गर्जो टार्न मद्धत पुग्ने स्थानीयको भनाई छ । जसोतसो बडा दशैं मनाएका पीडितहरुले तीहार भने खुसीमा साथ मनाउन पाइने भन्दै खुसी व्यक्त गरेका छन् । पहिरोले घरजग्गा क्षती बेहोरेका स्थानीय अमरबहादुर मगर भन्छन् ‘पहिरोले धेरैको घर गुम्यो, केहिले ज्यान समेत गुमाए, कतिपयको घरमा बस्ने अवस्था छैन्, राहतले पहिरोको पीडा केहि कम गरिदिएको छ ।’ राहतले घरपरिवारमा खुसी छाएको मगरको भनाई छ ।
पहिरोका कारण गाउँपालिकाभर ठूलो क्षती भएको ठाटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले बताए । गाउँपालिका र वडा कार्यालयहरुको पहलमा संस्थाले खाद्यान्न सहित राहत वितरण गरिएको वडाध्यक्ष शाहीले बताए । ‘पहिरो पीडित अधिकाँशले राहत पाएका छन्, गैरसरकारी संस्था मार्फत आएको सहयोग स्थानीय सरकारका लागि महत्वपूर्ण रहेको छ,’ वडाध्यक्ष शाहीले भने ।

हेर्नुहोस् भीडियो

प्रतिक्रिया