नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन दिन्‍नौं : प्रधानमन्त्री ओली

नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन दिन्‍नौं : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपालका भूभाग चीनका विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङहेसँग आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै नेपाल एक चीन नीतिमा कटिबद्ध रहँदै आएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन बीचका कुनै पनि समस्या नरहेको र घनिष्ठ मित्र रहेको बताएका थिए । ‘हाम्रो बीचमा समस्यारहित सम्बन्ध छ,’ ओलीलाई उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने । ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहँदै आएको पनि चिनियाँ रक्षामन्त्री वेईलाई प्रस्ट पारे । ओलीले पछिल्लो समय चीन र नेपाल बीचको सम्बन्ध थप उचाई लिएको पनि बताए । ओलीले आफ्नो सन् २०१६ र २०१८ को चीन भ्रमण र त्यस बेला भएका यातायात तथा पारवहन सम्झौताहरु ऐतिहासिक रहेको उल्लेख गरेका थिए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो चीन भ्रमण र गत वर्षको अक्टोबरमा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले पनि दुई मुलुक बीचमा विभिन्न सहमति भएको जनाए ।भट्टराईका अनुसार ओलीले खासगरी कनेक्टिभिटीका सवालमा भएका सहमतिहरु कार्यान्वयन लाने बाटो नेपाल रहेको बताएका थिए । ओलीले नेपालको आर्थिक विकासमा चीनले सहयोग गरिरहेको छ र नेपालका लागि चीनको सहयोग अपरिहार्य पनि रहेको बताएका थिए । ओलीले खासगरी कोभिड–१९ नियन्त्रण सफलतापूर्वक सम्पन्न गरेको र नेपाललाई चीनले गरेको सहयोगको लागि पनि धन्यवाद दिएका थिए ।

भट्टराईका अनुसार चीनका रक्षामन्त्री वेईले नेपाल र चीन बीचमा ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसको निरन्तताका लागि पछिल्लो समय चीन–नेपाल बीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजान पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।‘हामी नेपालसँगको सम्बन्धलाई महत्व दिन्छौं । नेपालले एक चीन नीति र नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने जुन प्रतिबद्धता गर्दै आएको छ । त्यसको हामी प्रसंसा गछौं,’ वेईलाई उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले भने ।

वेईले नेपाली सेनाका प्रधानसेनापतिसँग केही सहमति गरेर आएको र त्यही सहमतिअनुसारै कार्यान्वयन गर्दै जाने पनि ओलीलाई बताएका थिए ।उनले कोभिडको सन्दर्भमा सहयोगलाई आदान–प्रदान कार्यलाई निरन्तरता दिने पनि बताए । ‘चीनले कोरोना नियन्त्रण गरेको छ, र नेपालले पनि त्यहि गरोस भन्ने हाम्रो चाहना छ,’ वेईले भने ।

प्रतिक्रिया