घरदैलोमै पुगेर सचेतना

घरदैलोमै पुगेर सचेतना

दैलेख : प्रत्येक बर्ष २५ नोभेम्वर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा सञ्चालन हुँदै आएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगर्त दैलेखमा घरदैलोमै पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेख, बालिका बचाउ आत्मरक्षक अभियान कर्णाली प्रदेश, तरुण मीडिया प्रालीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका हुन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन घरदैलोमै पुगेर सचेतनामुलक कार्यक्रम सञ्चालनमा ल्याईएको हो । जिल्लाको नारायण नगरपालिकाका विभिन्न टोल, बस्ती तथा समुदायमा पुगेर सञ्चालन गरिने कार्यक्रम शुक्रवार नमुना बस्तीमा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गणेशचोक स्थित नमुना बादी बस्तीमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखिकरण कार्यक्रम महिला हिंसा, लैङ्गिक हिंसा, मनोसामाजक समस्या र व्यवस्थापन, मानव अधिकार र कानुनी प्रावधानको विषयमा अन्तरक्रिया गरि सम्पन्न भएको हो ।
कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, बाल हेल्पलाइन १०९८ दैलेखका संयोजक रमा श्रेष्ठ, इन्सेक जिल्ला प्रतिनीधि अमर सुनारले सहजिकरण गरेका थिए । कार्यक्रममा नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, पत्रकार विशाल सुनार लगाएत सहभागि थिए ।

प्रतिक्रिया