अभियान्ता सुनारलाई रास्ट्रिय स्वयंसेवक पुरस्कार

अभियान्ता सुनारलाई रास्ट्रिय स्वयंसेवक पुरस्कार

दैलेख : लामो समय देखि कर्णाली प्रदेश सुर्खेत, दैलेख जाजरकोट लगाएत मुलुकका विभिन्न जिल्लाहरुमा स्वयंसेवक रुपमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएकी अभियान्ता सजना सुनारले रास्ट्रिय स्वयंसेवक पुरस्कार–२०२० प्राप्त गरेकी छिन् । हरेक बर्ष डिसेम्बर ५ मा विश्वव्यापी रुपमा मनाईने अन्तरास्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपालमा यस बर्ष युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, युएन भोलन्टर, युनिसेफ लगाएतका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाएका थिए । दिवसका अबसरमा सुर्खेत निबासी सुनारलाई रास्ट्रिय स्वयंसेवक पुरस्कार प्रदान गरिएको हो । सुनारले विभिन्न क्षेत्रमा गरेको स्वयंसेवाको मुल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो । उनले यस अघि सन २०१७ मा अन्तराष्ट्रिय स्वयंसेवक पुरस्कार प्राप्त गरेकी थिइन् ।
सुनार विगत सात बर्षदेखि स्वयमसेवक रुपमा निरन्तर सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय छिन् । कर्णाली प्रदेशमा सञ्चालित बालिका बचाउ अभियानको संयोजक समेत रहेकी अभियान्ता सुनारले अभियान मार्फत स्वयमसेवक रुपमा बालिका सुरक्षा र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आईरहेकी छिन् ।
बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्दै आएकी सुनारले कोरोना भाइरस (कोभिड–१९) को महामारीले समाजको आर्थिक र सामाजिक पक्षमाथि उत्पन्न चुनौतीबाट सृजीत परिस्थितिमा स्वयमसेवक रुपमा कोभिड–१९ र लकडाउनले पारेको प्रभाव सम्बन्धि फेसबुक लाइभ तथा रेडियो प्रशारण अभियान र उत्प्रेरणात्मक तथा सांगीतिक उपचारात्मक अभियान सञ्चालन गरेकी थिइन् । कर्णालीका नौ वटा सामुदायिक रेडियोबाट प्रशारण हुने र फेसबुक लाइभ तथा रेडियो प्रशारण अभियान मार्फत महामारीमा उत्पन्न समस्या र समाधानका लागि विज्ञहरुसँग छलफल गरिएको थियो ।

किशोरीहरुलाई आत्मरक्षा तालिम दिँदै अभियान्ता सजना सुनार ।

सुनारको नेतृत्वमा सुर्खेतका क्वारेन्टाइन र आइसोलेसनमा उत्प्रेरणात्मक तथा सांगीतिक उपचारात्मक अभियान समेत सञ्चालन गरिएको थियो । कोरोनाको त्रासले समाजमा मानसिक समस्या नबढोस् भन्ने उदेश्यले थालिएको अभियानले भारत तथा देशभित्रैका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको अनुहारमा आएको निराशापन, दिक्दारी र चिन्ता कम गर्न मद्धत पु¥याएको उनको अनुभव छ ।
विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले समस्या भागेको, क्वारेन्टाइनबाट निस्किएर आत्महत्या गरेको, झडप भएका जस्ता समाचारले अभियान सुरु गर्ने प्रेरणा दिएको उनको भनाई छ । ‘क्वारेन्टाइनले गर्दा समाजमा कोरोना भन्दा पनि डरलाग्दो मानसिक रोग सिर्जना नहोस् भनेर अभियान सञ्चालन गर्दा म आफु पनि कोरोना संक्रमित हुन पुगेको थिएँ,’ अभियान्ता सुनारले भनिन् ‘अन्तरास्ट्रिय स्वयंसेवक दिवसको अवसरमा प्रदान गरिएको रास्ट्रिय स्वयंसेवक पुरस्कारले सामाजिक कार्यमा थप हौसला र उर्जा थपेको छ ।’ यसैबिच अभियान्ता सुनारलाई युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया