महिलालाई सवारी लाइसेन्सको लबिङ गर्ने लुजैनालाई जेल सजाय

महिलालाई सवारी लाइसेन्सको लबिङ गर्ने लुजैनालाई जेल सजाय

एजेन्सी : साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन ।३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ । उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ।हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ ।

हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् । साउदी अधिकारीहरूले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएका छन् ।

प्रतिक्रिया