ब्लड क्यान्सर पीडित बालकलाई सहयोग

ब्लड क्यान्सर पीडित बालकलाई सहयोग

दैलेख : दैलेखका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरिएको छ । नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित तीन बर्षिया बालक चेतन बोगटीलाई आर्थिक सहयोग उपलब्ध गराईएको हो । वैदेशिक रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीहरुले बालकलाई उपचारका लागि सहयोग पठाएका हुन् । समाजसेवी गणेशबहादुर बोगटीको समन्वयमा कोरियामा रहेका नेपालीहरुबाट संकलित रकम बालकका परिवारलाई हस्तान्तरण गरिएको छ । कोरियामा रहेका नेपालीहरुले संकलन गरी पठाएको रकम शुक्रवार नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले रकम हस्तान्तरण गरेका छन् ।
समाजसेवी बोगटी आफै शारिरिक अशक्तता भएका व्यक्ति हुन् । उनि हिडडुल गर्न सक्दैनन् । क्यान्सर पीडित बालकलाई आर्थिक अभाव भएको थाहा पाएपछि उनले वैदेशिक रोजगारीको शिलसिलामा कोरियामा रहेका छोरा प्रेम बोगटी मार्फत सहयोगका लागि समन्वय गरेका थिए । त्यँहा रहेका नेपालीहरुले ६४ हजार नेपाली रुपैँया संकलन गरि पठाएको समाजसेवी बोगटीले बताए ।
ती बालकलाई दुई बर्ष अघि ब्लड क्यान्सर भएको आमा सारदा बोगटीले बताइन् । बच्चाको उपचारमा भएको पैसा सबै सकिएको उनको भनाई छ । ‘अहिले ऋण गरेरै भएपनि बच्चाको उपचार गरिरहेका छौ, उनले भनिन् ‘उपचारमा चरम आर्थिक अभाव भएपछि वडा कार्यालय, नगरपालिका लगायत सबै संग सहयोगका अपिल गरेको थिएँ, तर कतैबाट सहयोग पाउन सकेको छैन् ।’ उनले कोरियाबाट सहयोग पठाउने सहयोगी व्यक्तिहरुलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया