विद्यार्थीहरुलाई अभिमुखिकरण

विद्यार्थीहरुलाई अभिमुखिकरण

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका विद्यार्थीहरुलाई लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा अभिमुखिकरण गरिएको छ । गुराँस गाउँपालिका–७ स्थित शान्ति माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको हो । विद्यालयको कक्षा ७ देखि कक्षा १२ सम्मका बालबालिकाहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्तको एलजीविटिआई (सोजी) परियोजनाद्धारा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।


विद्यालय तहको पाठ्यक्रममा बृहत यौनिकता शिक्षाको विषय राखिएतापनि उक्त विषयले लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यक जानकारीहरु समेट्न सकेको छैन् । विद्यार्थीहरुपनि त्यसबारे जानकार हुन सकेका छैनन् । विद्यार्थीहरुलाई लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवालमा जानकारी दिने, लैङ्गिक भेदभाव र लैङ्गिकमैत्री वातावरण सम्बन्धि सकारात्मक धारणाको विकास गराउने क्षमता विकास गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको परियोजना अधिकृत सजना सुनारले बताईन् ।
दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८ र ११, कक्षा ९ र १०, कक्षा ७ र १२ कक्षाालाई लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा छुट्टा छुट्टै अभिमुखिकरण गरिएको परियोजना अधिकृत सुनारले जानकारी दिइन् । अभिमुखिकरण कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको उल्लेख्य सहभागितामा लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा बृहत छलफल भएको छ । विद्यालयमा सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । बिहीवार देखि सुरु भएको कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।

प्रतिक्रिया