जग्गा माग्दै धर्ना

जग्गा माग्दै धर्ना

सुर्खेत : आफूहरूलाई गाँस–बास व्यवस्थापन गरिदिनुपर्ने भन्दै बादी समुदायका प्रतिनिधिहरू कर्णालीका मुख्यमन्त्रीको कार्यालयमा धर्ना बसेका छन् । दैलेख र सुर्खेतबाट आएका उनीहरू सोमबार रातिदेखि धर्ना बसेका हुन् ।दैलेखको तल्लो डुंगेश्वरबाट आएकी ३५ वर्षीया राधा बादीले सरकारले आश्वासन दिए पनि आफूहरूको गाँस–बासको व्यवस्था नहुँदा धर्ना बस्नुपरेको बताइन् । उनी श्रीमान् र छोराछोरीसहित धर्नामा छिन् । त्यस्तै कालिकोटको मान्मबाट आएकी ५२ वर्षीया लक्ष्मी बादी पनि स–साना नातिनातिनीसँगै धर्ना बसेकी छिन् । ‘घरजग्गा केही पनि छैन, कमाउनलाई जागिर छैन, हाम्रा लागि सरकारले हेरिदिएन,’ उनले भनिन्, ‘मजदुरी नभएको दिन त भोकभोकै बस्नुपर्छ ।’

गाँस–बासको माग गर्दै दैलेखको रामाघाट, दुल्लु, डुंगेश्वर, भैरवी, गमौडी र कालिकोटको मान्मबाट १ सय १२ घरका ४ सय २ जना सुर्खेत आएका छन् । धर्नामा बालबालिकादेखि वृद्धसम्म छन् । उनीहरूको प्रमुख माग भनेकै नम्बरी जग्गा (लालपुर्जासहित) पाउनुपर्ने रहेको छ । बादी समुदायका युवा हिक्मत बादीले आफ्नो नाममा जग्गा नहुँदा दोस्रो दर्जाको नागरिकजस्तो हुनुपरेको बताए । ‘सरकार फेरिए, सुकुम्बासी समस्या समाधान आयोग पनि आए, तर हाम्रो पीडा कसैले सुनेन,’ उनले भने, ‘हामीलाई त सरकार भएको महसुस पनि भएको छैन ।’बादी समुदायको धर्ना कार्यक्रममा पुगेका कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश सरकारले जग्गा–जमिनको व्यवस्था गर्न नसक्ने बताए ।

प्रतिक्रिया