हिंसा रहित कक्षा सञ्चालन

हिंसा रहित कक्षा सञ्चालन

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–३ को सेरी, छर्चि र खड्कबाडा टोलमा हिंसा रहित कक्षा सञ्चालन गरिएको छ । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत उक्त कक्षाहरु सञ्चालन गरिएको हो । बाल अधिकार, बाल विकास, सकारात्मक अभिभावकत्व, लैंगिकता तथा भेदभाव विहीनता, बालबालिकामाथि हुनसक्ने हानी र जोखिमका बारेमा बालबालिकाका तथा उनीहरुको अभिभावकहरुको बुझाईमा विकास गर्ने उद्धेश्यले कक्षा सञ्चालन गरिएको हो । उक्त कक्षामा ६ देखि १७ वर्ष उमेर समूहका बालबालिका र उनीहरुका संरक्षकहरुको सहभागीता छ ।
विद्यमान लैंगिक मूल्य मान्यता, शक्ति सम्बन्ध र घरपरिवारमा द्वन्द्व बढाउने खालका अभ्यासलाई बदल्नुका साथै सरकारसँग मिलेर बालबालिकाको संरक्षणलाई बढावा दिने पद्धति तथा संयन्त्रहरूको सुदृढीकरणमा हिंसा रहित अभिभावकत्व सम्बन्धि कक्षाले सघाउ पु¥याउने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । बालबालिकाको उमेर समूह अनुसार ६ देखि ९, १० देखि १३ र १४ देखि १७ वर्ष उमेर समूहका बालबालिका र उनीहरुका अभिभावकलाई छुट्टा छुट्टै कक्षा सञ्चालन गरिने अधिकारीले जानकारी दिए ।

‘किशोराअवस्थामा प्रवेश गर्दै गरेका बालबालिकामा हुने शारीरिक तथा भावनात्मक परिवर्तन र संवेगहरुको बारेमा घरपरिवार र समुदाय सचेत नहुदाँ समाजमा विभिन्न खालका हिंसा तथा दुव्र्यवहारहरु हुन्छ,’ अधिकारीले भन्छन् । पाँच वर्षको उमेरसम्म बालबालिकाको ९० प्रतिशत बृद्धि र विकास हुने हुदाँ उक्त उमेर समूहका बालबालिकालाई उचित स्याहारको आवश्यकता पर्ने गरेको उनको भनाई छ । बालबालिकालाई कलिलो उमेर देखिनै असल संस्कार सिकाउनु पर्नेमा अधिकारीले जोड छ ।
हिंसा रहित कक्षाले समाजमा रहेका गलत परम्परागत मूल्य र मान्यतामा परिवर्तन आएर सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने वडाध्यक्ष गंगाराम खत्री बताउँछन् । ‘वडाका सबै घर परिवारका अभिभावक र बालबालिकाको लागि सञ्चालन गरिएको यस कार्यक्रमले आगामी दिनमा यस वडालाई बालबालिकामाथी हुने सबै प्रकारका हिंसारहित वडा घोषणा गर्न पनि सहयोग गर्नेछ,’ वडाध्यक्ष खत्रीले भने ‘हामी राम्रो समाज बनाउन चाहान्छौं, अनि सभ्य समाज, हिंसा रहित समाज, २४ घण्टा मध्ये सबै भन्दा बढी समय बालबालिकाले आमासँगै बिताउने भएको हुदाँ आमाहरुको परम्परागत सोचाईमा परिवर्तन गर्न यो कक्षा उपयोगी हुनेछ ।’
‘तिमी असल आमा देउ म असल राष्ट्र दिनेछु’ नेपोलिएन वोनापार्टको भनाई सम्झिदै अध्यक्ष खत्रीले भने ‘एउटा असल परिवार र असल सन्तान बनाउनका लागि आमाको भन्दा अरु कसैको महत्वपूर्ण भूमिका हुन सक्दैन् ।’ हिंसा रहित कक्षामा सहभागी सबै आमाहरुको सोचाई तथा व्यवहारमा परिवर्तन भएर राम्रो समाज र राम्रो सन्तान बनाउन सहयोग पुग्ने खत्रीले बताए ।
हिंसा रहित कक्षा सञ्चालनको अवधिभर अभिभावकहरुको लागि १० वटा कक्षा, बालबालिकाको लागि ९ वटा कक्षा, बालबालिका र अभिभावक विच २ वटा संयुक्त अन्तरक्रिया र पाँच वर्षमुनिका बालबालिकाको घरभेटघाट जस्ता क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

प्रतिक्रिया