नौ दिनपछि भेटियो रजनीको शव

नौ दिनपछि भेटियो रजनीको शव

सुकी बडुवाल सहित उनका तीन छोरा छोरीको शव कर्णाली नदीमा भेटिएपछि जम्मा भएका स्थानीय। तस्बिर : हिक्मतबहादुर नेपाली।

दैलेख : फागुन २३ गते आइतबार आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ। उनको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको हो। 

बालिकाको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए। कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइने डिएसपी श्रेष्ठले जानकारी दिए। नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलीपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो। 

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा पढ्थिन्। यस्तै १२ वर्षीया सरिता कक्षा ५, १० वर्षका ललित कक्षा ३ र  ५ वर्षीया रजनी कक्षा १ मा पढ्थिन्।

पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको प्रहरी अनुसन्धानले देखाएको छ। आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भयका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन्। मानसिंहले मदिराको कुलतमा परी दिएको यातनाका कारण उनको सुन्दर परिवार उजाडिएको स्थानीय बासिन्दाहरुको भनाइ छ। प्रहरीले उक्त घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया