कालिकोटमा बाल हेल्पलाइन नम्बर १०९८ विस्तार

कालिकोटमा बाल हेल्पलाइन नम्बर १०९८ विस्तार

अब कालिकोट सहित हुम्ला, जुम्ला, मुगु र डोल्पामा हेल्पलाइन नम्बर १०९८ को पहुँच

दैलेख : जोखिम अवस्थामा रहेका बालबालिकाको आपत्तकालिन उद्धार, राहत, मनोविमर्श, पारिवारिक पुर्नमिलन तथा सामाजिक पुर्नस्थापनाका निम्ति बाल हेल्पलाइन नम्बर १०९८ कालिकोेट जिल्लामा पनि सञ्चालनमा ल्याईएको छ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बाल हेल्पलाइन नम्बर १०९८ (दश नौ आठ) को सेवा सञ्चालनमा ल्याएको हो ।
कालिकोट जिल्लामा बाल हेल्पलाइन नम्बर १०९८ सेवा विस्तार भएसँगै कालिकोट सहित हुम्ला, जुम्ला, मुगु र डोल्पाका जोखिममा परेका बालबालिकालाई मनोविमर्श परामर्श, उद्वार, राहत, परिवारमा पुर्नस्थापना, पुर्नमिलन र आपत्तकालिन गृह सहयोगको पहुँच पुगेको छ । कालिकोट जिल्ला सदरमुकाम मान्ममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले यसअघि देखिनै महिला र बालबालिका केन्द्र सञ्चालन गरिरहेको छ ।
कालिकोटमा बाल हेल्पलाइन १०९८ सेवा सञ्चालन गर्न बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ को दफा १४ को उपदफा ४ र ५ बमोजिम महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट (मन्त्रीस्तको निणर्य अनुसार) यस अघि नै स्वीकृत भईसकेको थियो । परिषद्ले मापदण्ड अनुसार कालिकोट जिल्लामा पनि बाल हेल्पलाइन सेवा सञ्चालन गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई अनुमती दिएको थियो ।
संस्थाले दैलेखमा भने २०७३ देखि बाल हेल्पलाइन १०९८ सञ्चालन गरिरहेको छ । जिल्लामा बाल हेल्पलाइन कार्यान्वयनमा आएपछि घरपरिवार, साथी र छरछिमेकबाट हुने विभिन्न प्रकारका हिंसामा परेका बालबालिकाहरूको उद्धार गर्नेदेखि न्याय दिलाउने प्रभावकारी माध्यम बनेको छ । समस्यामा परेका बालबालिकाले १०९८ मा फोन गरेर न्याय र सेवा पाउने माध्यमका रूपमा बाल हेल्पलाइनलाई रोज्ने गरेका छन् ।
चौबिसै घण्टा खुला रहने १०९८ नम्बरको बाल हेल्पलाइन पीडामा परेका बालबालिकालाई नै सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको निःशुल्क टेलिफोन हो । संस्थाद्धारा दैलेखमा सञ्चालिन हेल्पलाइन र महिला र बालबालिका केन्द्र मार्फत मनोविमर्श परामर्श सेवा, वकालत, पैरवी र पहल, निशुल्क कानुनी सेवा लगाएत आवश्यकता अनुसार अन्य सरोकारवाला निकायसगँ समन्वय गरी रिफर गर्ने, आपतकालीन गृह सेवा, पुर्नमिलन सेवा प्रदान गरिएको संयोजक रमा श्रेष्ठले जानकारी दिइन्

प्रतिक्रिया