जातीय विभेदका घटना मेलमिलाप गराउनु गैरकानूनी

जातीय विभेदका घटना मेलमिलाप गराउनु गैरकानूनी

दैलेख : सामाजिक सद्भाव कायम राख्ने नाममा जातीय विभेदको मुद्दामा मेलमिलाप गराउने प्रवृति प्रति दैलेखमा नागरिक समाजले बिरोध गरेका छन् । जातिभेद तथा रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नागरिक समाज, इन्सेक लगायतका १३ वटा संस्थाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यको विरोध जनाएका हुन् । राजीतिक नेतृत्व र स्थानीय न्यायिक समितिले अग्रसरतामा कानूनले सरकार वादी फौजदारी भनेको जातीय विभेद कसूरका घटना मेलमिलाप गराउनु गैरकानूनी र गैरजिम्मेवार काम गरेको भन्दै नागरिक समाजको ध्यानार्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा आफूलाई सचेत नागरिक ठान्ने गैरदलित समुदायका शिक्षक, बुद्धिजीवि, राजनीतिककर्मी, उद्यमी, व्यापारी नागरिक समाजहरु शान्ति, अमनचयन र सभ्यता अभिबृद्धि गर्ने काममा अग्रसर हुन नागरिक समाजले अपिल गरेको छ ।
नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०७५ ले जातिपातिका आधारमा कसैलाई पनि विभेद गर्न नपाइने व्यवस्था गरेको छ । ऐनमा निजीस्थानमा पनि विभेद गर्न नपाइने, बिदेश भएको छुवाछूत घटना स्वदेशमा मुद्दा चल्न सक्ने, सार्वजनिक पदधारण गरेको व्यक्तिले विभेद गरे थप ५० प्रतिशत सजाय हुने कानूनी व्यवस्था छ ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रगंभेदी कानुन विरुद्ध गरेको भन्दै शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा ६९ जना अधिकारकर्मीहरु मारिए र ३०० भन्दा बढीलाई घाइते बनाइएको थियो ।
उक्त दुःखान्त घटनाको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मार्च २१ तारिकदेखि रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको थियो ।
सो दिनलाई नेपाल लगायतका जातीय विभेद समस्या रहेका देशहरुमा मार्च २१ तारिकलाई जातिभेद तथा रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालेका छन् । यो वर्ष ‘जातिवाद बिरुद्ध युवा’ भन्ने अन्तरराष्ट्रिय नारा र नेपालमा ‘जातीय हिंसा र छुवाछूत बिरुद्ध हामी’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवसको अवसरमा दैलेखका दुई वटा एफएम रेडियो ध्रुवतारा र रेडियो ज्वालाले जातिभेद तथा रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवस सन्दर्भमा विहान सवा ८ बजेदेखि ९ बजेसम्म रेडियो सम्वाद कार्यक्रम प्रसारण गरेका थिए । महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिक, सुर्खेतका अधिकारकर्मी महेन्द्र नेपाली र खसाङ्ग संघर्ष समितिका केन्द्रीय सदस्य थर्कबहादुर बस्नेतसंग नेपालमा जात व्यवस्थाले दलित समुदायमा पारेको असर बारे बहस गरिएको थियो ।
दैलेखमा गैसस महासंघ, महिला शसक्तिकरण मञ्च, सुन्दर नेपाल संस्था, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, न्यू ज्वाला क्लव, क्रियाशील पत्रकार मञ्च, दलित स्वावलम्वी समाज, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र दलित जागरण केन्द्रले एक्यवद्धता जनाएर विज्ञप्ती प्रकाशन गर्ने बाहेक दैलेखमा कुनै गतिविधि भएनन् ।
२०५९ सालदेखि हरेक वर्ष बृहत कार्यक्रमहरु गर्दै आए पनि पछिल्लो समय दलित गैरसरकारी संस्थाहरु परियोजना बिहीन भएको यो बेला स्थानीय तहहरुले पनि सचेतनाको काममा बेवास्ता गर्ने गरेको कारण जिल्लामा यस्ता दिवसका कार्यक्रमहरु मनाउन कठिनाई भएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारको टिप्पणी छ ।
ठूला विकास कार्यक्रमहरु माग अपूरा भएकोले दिवस वा सचेतनामा त्यस्ता कार्यक्रमहरु राख्न नसकिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भनाई छ । दलित अगुवाहरुले जम्बुकाँधमा गरेको सचेतना कार्यक्रमको चिया खाजा र फागुन १ गते दैलेखमा भएको दलित जागरण अभियानमा यातायात खर्च बेहोर्न पनि श्रोत जुटाउन नसकिएको अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया