आफ्नै छोराको हत्या गरेर आत्महत्याको प्रयास

आफ्नै छोराको हत्या गरेर आत्महत्याको प्रयास

तस्विर गुगल

दैलेख : दैलेखमा एक महिलाले आफ्नै नाबालक छोरालाई विभत्स हत्या गरेकी छिन् । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–३ रेक्चाकी २८ बर्षीया हिरा थापामगरले नाबालक छोरा ३ बर्षीया उमेश थापामगरलाई झुण्ड्याएर विभत्स हत्या गरेकी हुन् । हिराले बिहीवार विहान ६ बजे छोरा उमेशलाई आफ्नै घरमा झुण्ड्याएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । उनले छोरा उमेशलाई कुर्ताले झुण्ड्याएर हत्या गरेको पुष्टि भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । ‘ती महिलाले कक्षामा ४ मा अध्ययनरत ९ बर्षीया छोरीलाई समेत हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरिक्षक सुनारले भने ‘ती बालिका भने आमाको हातबाट फुत्किई भागेर बाँच्न सफल भएको पुष्टि भएको छ ।’
छोराको हत्या गरेर हिराले आत्महत्याको प्रयास समेत गरेकी छिन् । छोराको हत्या गरेर घरभन्दा एक किलोमिटर टाढा उत्तर तर्फको रेक्चा खोलाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । भीरबाट हाम फालेर आत्महत्याको प्रयास गर्दा उनि सख्त घाइते भएकी छिन् । स्थानीय नागरिकहरुले ती महिलाले भीरबाट हाम फालेर सख्त घाइते भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलाको प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ । बालकको शव पनि पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ ।
ती महिला मानसिक रोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए । नाबालक छोराको हत्या गरेर आत्महत्याको प्रयास गर्ने हिरा थापामगरका श्रीमान थीरबहादुर थापामगर भारतमा छन् । थीरबहादुर मजदुरीका लागि भारतमा रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।

प्रतिक्रिया