जनशक्ति अभावमा एक बर्षदेखि थन्कियो भेन्टिलेटर, बिरामी मारमा
दैलेख : दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता झण्डै एघार महिनाको अधिमा जिल्लामा दुई हजार एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक हजार ७ सय ६६ जना कोरोनाका बिरामी निको भइसकेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८८ छ । तीमध्ये ३३ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
३ सय ५५ जना घरमै छन् । जिल्लामा कोरोना संक्रमणका बिहीबारसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । बुधबार थप दुईजनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो । वैशाखयता दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । दैनिक नयाँ संक्रमित थपिने क्रम जारी छ । मृत्युदर पनि बढिरहेको छ । कोरोनाका बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्ने खालका छन् । दैलेख अस्पतालमा भेन्टिलेटर पनि छ तर त्यसको सदुपयोग छैन।
झन्डै एक वर्षअघि ल्याइएको भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका छन् । गत भदौमा भेन्टिलेन्टर जडान गरिएको थियो । दैलेख अस्पतालमा २ वटा भेन्टिलेटर मेसिन र पाँच बेडको आइसीयू छ । तर दुर्भाग्यः कोरोनाको संक्रमण तीव्ररुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आइसीयू र भेन्टिलेटर प्रयोगविहीन बनेका छन् ।
अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा पूर्वाधार विकास गरिएको थियो । महामारीकै बेला स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालमा भेन्टिलेन्टर जडान गरिएपनि हालसम्म सञ्चालनमा आउन सकेका छैन् । दक्ष जनशक्ति नुहँदा भेन्टिलेन्टर सञ्चालमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
प्रदेश र संघीय सरकारले भेन्टिलेटर चलाउने विशेषज्ञ चिकित्सक नपठाएपछि त्यत्तिकै थन्किएका दैलेख अस्पतालका डा. जगत थापाले बताए । ‘भेन्टिलेटर छ, तर भेन्टिलेटर बिरामीलाई सुर्खेत तथा नेपालगंज पठाउनुपर्ने बाध्यता छ,’ डा. थापा भन्छन्, ‘भेन्टिलेटर चलाउने जनशक्ति, औषधि र अरू सामग्रीको अभाव भएपछि त्यत्तिकै थन्क्याएका हौँ ।’ अस्पतालमा नियमित विद्युत आपूर्ति नहुँदा झन् समस्या परिरहेको डा. थापाको भनाइ छ ।
भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा आएपछि जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने बताइएपनि भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका हुन् । त्यसबेला संघीय सरकारको एक करोड बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयू) का उपकरणहरु जडान गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका अनुसार झण्डै ९५ लाख रुपैयाँ लागतमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आईसीयू) का उपकरणहरु जडान गरिएको हो।
प्रतिक्रिया