अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री दैलेख ल्याइँदै

अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री दैलेख ल्याइँदै

दैलेख : कोरोनाको बढ्दो संक्रमणसँगै मुलुकभर अक्सिजन सिलिण्डरको अभाव भईरहेको छ । दैलेख जिल्लामा बैशाखयता नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढ्दो छ । कोरोना भाइरस रोकथाम नियन्त्रण तथा संक्रमितको उपचारका लागि आवश्यक पहल भईरहेका छन् । स्थानीय तहहरु समेत संक्रमण रोकथाममा जुटेका छन् । प्रदेश सांसद र संघीय सांसदले समेत अक्सिजन सिलिण्डर, स्वास्थ्य सामग्रीको जोहो गरिरहेको छन् ।

सोहि क्रममा प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले दैलेखका लागि अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री पठाएको छ । विभागले दैलेख अस्पतालका लागि १० वटा अक्सिजन सिलिण्डर, दुई वटा अक्सिजन कन्सनट्रेटर पठाएको सांसद विशुन्केले जानकारी दिइन् । सांसद विशुन्केका अनुसार १० वटा इन्फारेड थर्मोमिटर, पीसीआर किट समेत पठाईएको छ । त्यस्तै स्वास्थ्य सामग्रीहरु गाउन, चश्मा (सेफ्टी), सर्जिकल मास्क, सेनीटाइजर, एननाइन्टीफाइभ मास्क समेत अस्पतालका लागि पठाईएको छ ।

दैलेखमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि आफुले पहल गरिरहेको सांसद विशुन्केको भनाई छ । ‘कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउन नपरोस् भन्नका लागि मैले सक्दो पहल गरिरहेको छु,’ सांसद विशुन्केले भनिन् ‘अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग दैलेख जिल्लाको लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री पठाएको हुँ ।’ जिल्लाका लागि थप अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पठाउनका लागि आफु जुटेको उनले बताइन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाबाटै सवारी साधन पठाई दिएकोले सामान पठाउन सहज भएकाे सांसद विशुन्केकाे भनाइ छ । यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जिल्लाको लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापनका लागि माग गरी समयमै पठाएकाले पनि सरोकारवाला निकायलाई समयमै खवरदारी गर्न सहज भएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया