दुर्गम गाउँमा खानेपानी

दुर्गम गाउँमा खानेपानी


दैलेख : डुङ्गेश्वर गाउँपालिका–३ कल्सेढुंगा गाउँ । यो गाउँ जिल्लाको सबै भन्दा दुर्गम मानिन्छ । गाउँमा न सडक पुगेको छ न त उपचारका लागि स्वास्थ्य संस्था नै छ । गाउँपालिकाको केन्द्रदेखि पैदल पाँच घण्टाको दुरीमा रहेको यस गाउँ विकास निर्माणमा पछि परेको स्थानीयको गुनासो छ । गाउँमा सहज सडक विस्तार हुन सकेको छैन् ।
सडक र स्वास्थ्य उपचारको सूविधा नपुगेको कल्सेढुंगाबासीलाई गाउँमा खानेपानी नहुँदा निकै मुस्किल थियो । पिउने पानीको समेत अभाव हुँदा उनीहरूलाई सरसफाइ गर्ने कुरा नौलौ लाग्थ्यो । घरमै खानेपानीका धारा आउँला भन्ने कल्पनामै थिएन उनीहरूलाई । यहाँका नागरिकहरुलाई गाउँबाट टाढा रहेको मुहानबाट पाइपमार्फत पानीको जोहो गर्नुपर्ने बाध्यता थियो । पाइप मार्फत ल्याएको पानी व्यवस्थित थिएन् ।
तर हिजोआज सबैको घरैपिच्छे पानीका धारा जोडिएपछि कल्सेढुंगाबासी दंग छन् । स्थानीयको वर्षौंदेखिको स्वच्छ पानी प्रयोगको सपना पूरा भएको छ । अहिले कल्सेढुंगाबासीको घर घरमा धारा निर्माण गरिएको छ । ‘गाउँका सबै घरमा पानीको धारा बन्ला भन्ने सोचेकै थिएनौँ,’ स्थानीय धनबहादुर पुनमगर भन्छन् ‘घरैपिच्छे पानीका धारा आए, फोहोर पानी खानुपर्ने बाध्यता हटेर गएको छ ।’
पानीसँगै खुसी भएका स्थानीयले गाउँमा खानेपानीकै लागि भोग्नु परेको समस्या बिर्सीएका छन् । ‘पाइपबाट पानीको जोहो गरेका थियौ, त्यहि पनि सबैलाई पुग्दैनथ्यो, पाइप मार्फत आएको पानी फोहोर र अव्यवस्थित थियो,’ स्थानीय टेकबहादुर पुन भन्छन् ‘अब पानीको समस्या हटेर गएको छ ।’ घरमै खानेपानीको धारा जडान भएपछि घरमै पानी भर्न पाइने र बचेको समय अन्य काममा सदुपयोग हुने स्थानीय दिलकुमारी पुनमगर बताउँछिन् । उनले बर्षौंपछि गाउँमा खानेपानी सुविधा भएको सुनाइन् ।
जनजातीको बसोबास रहेको कल्सेढुंगा गाउँका ३५ घरमा पानीको धारा जडान भएका छन् । गाउँमै रहेको स्कुल र पाहुना घरमा समेत खानेपानीको धारा जडान गरिएको छ । स्थानीयले बाहिरबाट कल्सेढुंगा गाउँमा जाने पाहुनाका लागि बस्नलाई पाहुना घर (अतिथी गृह) निर्माण गरेका छन् ।
हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले गाउँमा खानेपानीको सुविधा पु¥याएको हो । परियोजनाका प्राविधिक जयबहादुर विष्टका अनुसार ३१ लाख ४९ हजार रुपैयाँ लगानीमा कल्सेढुंगा खानेपानी तथा सरसफाई योजनामार्फत गाउँमा खानेपानीको सुविधा पुगेको हो ।
गाउँदेखि करिब २८ सय मिटर दूरीमा रहेको मुहानबाट पानी ल्याईएको हो । गाउँमा क्रमश एक, तीन र ६ घनमिटरको पानी ट्यांकी निर्माण गरिएको विष्टले बताए । ‘गाउँमा पर्याप्त खानेपानी सुविधा पुगेपछि स्थानीयले व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन थालेका छन् भने सरसफाईका सूचकहरु पुरा भएको छ,’ विष्ट भन्छन् ‘गाउँका सबै घरमा भाँडा सुकाउने पक्की चाङ, फोहोर फाल्ने खाडल निर्माण गरेका छन् ।’

प्रतिक्रिया