प्राइड मन्थ–२०२१ : चेतना फैलाउँदै बालबालिका

प्राइड मन्थ–२०२१ : चेतना फैलाउँदै बालबालिका

दैलेख : अंग्रेनी पात्रो अनुरार जुन महिलालाई ‘प्राइड मन्थ’ अर्थात गर्वको महिना मानिन्छ । यो महिनाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको लागि विशेष महत्व राख्छ । नेपालमा पनि जुन महिला यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।

कर्णालीमा समुदायस्तरमा चेतना फैलाउँदै प्राइड मन्थ मनाईएको छ । दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरुले समुदायमा चेतना फैलाउँदै प्राइड मन्थ मनाएका हुन् । गुराँस गाउँपालिका–८ को वडास्तरिय बाल सञ्जालले प्ले कार्ड प्रर्दशनी तथा गीत गजल, कविता र मन्तब्य मार्फत समुदायस्तरमा चेतना फैलाएका हुन् ।

त्यसैगरी सोहि वडामा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको वडास्तरिय बाल सञ्जालका अध्यक्ष भुपेन्द्र विकले बताए । हस्ताक्षर अभियानमा ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार सुनिश्चितता गर्नका लागि तपाई हाम्रो दायित्व र म यसप्रति प्रतिबद्ध छु’ लेखिएको ब्यानरमा ९५ जनाले हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष पूर्णबहादुर ओलीद्धारा सूरुवात गरिएको अभियानमा जनप्रतिनीधि, शिक्षक लगाएत स्थानीय बासिन्दाले हस्ताक्षर गरेका थिए । लैङ्गिकमैत्री समाज निर्माण र आफु जे छौ त्यहिमा गर्व गर्नसक्ने वातावरण सृजना गर्न सदैव क्रियाशिल रहने बाल सञ्जालका अध्यक्ष विकले बताए ।

‘प्राइड मन्थ’ मनाउने क्रममा सोमवार गुराँस गाउँपालिकाको रानीमत्तामा प्लेकार्ड प्रर्दशन गरिएको छ । गुराँसका स्थानीय बासिन्दा र सोसेकमा कार्यरत कर्मचारीहरुको सहभागितामा प्लेकार्ड प्रर्दशन गरिएको हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यकमाथी हुने घृणा, भेदभाव, हत्या, लैङ्गिक दुव्र्यवहारको अन्त्य गरौँ, विद्यालय तथा सार्वजनिक स्थानमा जिस्क्याउन बन्द गरौँ लगाएतका प्लेकार्ड प्रर्दशन गरिएको हो । गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सहयात्रा दोस्रो परियोजना अन्तरगर्त लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजना सञ्चालित छ ।

‘प्राइड मन्थ–२०२१’ गुराँस गाउँपालिकामा पहिलो पटक सचेतनामुलक कार्यक्रम गरी मनाईएको परियोजना अधिकृत सजना सुनारले बताइन् । ‘वडास्तरिय बाल सञ्जाल तथा बाल क्लब मार्फत समुदायमा चेतना फैलाउँदै प्राइड मन्थ मनाईरहेका छौ,’ सुनारले भनिन् ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका युवा तथा बालबालिका स्वतन्त्र र विभेदरहित बाँच्न पाउने वातावरण सृजना गर्न गुराँसका विद्यालय र समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन भईरहेको छ ।’

यता गुराँस गाउँपालिकाले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मासिक भत्ता उपलब्ध गराउने नीति अघि सारेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संरक्षण र सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया