बालक नारायण सुनारकाे उपचारका लागि पत्रकार मनोजले गरे ४० हजार सहयोग

बालक नारायण सुनारकाे उपचारका लागि पत्रकार मनोजले गरे ४० हजार सहयोग

 बालक नारायण सुनारको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिँदै । 

दैलेख: नारायण नगरपालिका-२ कुसाडा गाउँका ८ वर्षीय बालक नारायण सुनारलाई उपचार खर्च जुट्न थालेको छ । साउन २५ गते बालकको अवस्थाबारे विभिन्न संचार माध्ययममा समाचार प्रकाशन भएपछि ३ वर्षदेखि उपचार नपाएर थलिएका बालकका लागि उपचार खर्च जुट्न थालेको   हो ।

बुधबार मात्रै पत्रकार मनोज जोशीले उपचार खर्च वापत ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाचार प्रकाशनपछि एपीवान टेलिभिजनमा कार्यरत पत्रकार जोशीले बालक सुनारलाई उक्त रकम सहयोग गरेका हुन् । पत्रकार जोशीको तर्फबाट २५ हजार र उनकी बहिनी ज्वाईँ मञ्जु अर्याल र हरी अर्यालको तर्फबाट १५ हजार गरी ४० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । पत्रकार जोशीले बालकको उपचार खर्चका लागि सहयोग रकम बुधबार अन्नपूर्ण पोस्टका  सम्पादक अखण्ड भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

बालक सुनार तीन वर्षदेखि हात खुट्टा सुन्निने, दुख्ने समस्याबाट ग्रसित छन् । हात र खुट्टा चल्दैन । आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुँदा उनको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ । बालक नारायण ३ वर्ष छँदा बुवा टेकबहादुर सुनारको निधन भएको थियो । रोजगारीका लागि भारत गएका थिए । बालकको घरमा ७० वर्षीय बाजे र नारायणकी आमा मात्र छन् । घरमा कमाउने कोही नहुँदा उपचारबाट बञ्चित बालकको अवस्था झन् नाजुक बन्दै गएपछी उनकी आमा गंगा विकले सहयोगको अपील गरेकी थिइन् ।

पत्रकार जोशीले यसअघि नेपालको विभिन्न भू-भागका अनाथ, अशक्त र अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ, त्यसैले बालक नारायणको उपचारमा थोरै भएपछि राहत पुग्ने सोचेर सहयोग गरेको हुँ,’ पत्रकार जोशीले भने ‘आगामी दिनमा पनि कोही आर्थिक अभावमा उपचारबाट बञ्चित हुनु नपरोस् भनी सकेको सहयोग उपलब्ध गराउनेछु ।’ उनले बालकको उपचार खर्च जुटाउनका लागि सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।  पत्रकार जोशीले बालकलाई सहयोग गरेको उपचार खर्च बापतको रकम बिहीबार बालकको परिवारलाई उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया