अफगानिस्तानमा फसेका नेपालीहरुको उद्वारको तयारी

अफगानिस्तानमा फसेका नेपालीहरुको उद्वारको तयारी

काठमाडौँ : परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा फसेका नेपालीको उद्वारका लागि समिति गठन गरेको छ ।परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अन्नपूर्णलाई बताइन् । यसअघि आइतबार बिहान संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका थिए ।

समितिमा अरु सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेन छन् । पौडेलका अनुसार अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीलाई आवश्यकता अनुसार समन्वय गरी उद्वार गरिनेछ ।

अफगानिस्तानमा एक हजार भन्दा धेरै नेपाली रहेको बुझिएको छ । तीमध्ये धेरैजसो अमेरिकी दूतावास तथा कुटनीतिक नियोगमा सुरक्षाकर्मी लगायतका काममा संलग्न रहेको बताइन्छ । यद्यपि हालसम्म सबै नेपालीहरु सुरक्षित रहेको नेपाली अधिकारीहरुले बताएका छन् । अफगानिस्तान तालिबानी संकटमा फस्दै गर्दा त्यहाँबाट अमेरिका लगायत अन्य देशले भने आफ्ना नागरिकलाई फिर्ता गर्ने क्रम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया