अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर छ : देउवा

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर छ : देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार र समन्वयको जिम्मेवारीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आफूले आइतबार नै निर्देशन दिइसकेको उनले जनाएका छन् ।‘सुरक्षा र उद्धार प्रतीक्षा  गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

नेपाल सरकार पनि अफगानिस्तानमा बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउन एक कार्यदल बनाएको छ । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्य गर्न परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रावण २८ सम्म १४ हजार ८ सय ९२ जनाले श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांक छ । जसमध्ये ८ हजार जनाले पहिला अफगानिस्तानमा काम गरी फर्केर श्रम स्वीकृतिको अनुमति लिई पुनः गएको रेकर्ड छ । उल्लिखित तथ्यांक म्यानपावर कम्पनी र व्यक्तिगत श्रम स्वीकृति लिई गएकाहरूको हो । अरू प्रक्रियाबाट त्यहाँ गएका नेपालीको संख्या पनि निकै रहेको बताइएको छ ।

 

प्रतिक्रिया