गाईले बाच्छो जन्माउँदा भान्सा कोठाको न्यानो ठाउँमा, बुहारीले नाती जन्माउँदा गाई गोठको ओसिलो कुनामा !

गाईले बाच्छो जन्माउँदा भान्सा कोठाको न्यानो ठाउँमा, बुहारीले नाती जन्माउँदा गाई गोठको ओसिलो कुनामा !

फाइल तस्विर, पत्रकार भक्तबहादुर शाहीको फेसबुक पेजबाट ।

दैलेख : सामाजिक संजाल फेसबुकमा ‘एमकुमार शाही’ नाम राखेका ठाटीकाँध गाउँपालिकाका महेन्द्रकुमार शाहीले सोमवार एउटा स्टाटस लेखे । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘गाईले बाछो पाउँदा भान्छा कोठाको न्यानो अगेना नजिक राख्ने र बुहारीले नाती पाउँदा गाई गोठको ओसिलो कुनामा राख्ने संस्कारले हामी अझैँ कुन युगमा छाँै भन्ने प्रष्ट पार्छ ।’

यो विषय नौलो भने होइन् । बर्षौदेखि यस्ता विषय सामाजिक संजाल सँगै सार्वजनिक कार्यक्रम लगाएतका स्थानमा उठ्ने गरेको थियो । शाहीले लेखेको स्टाटसलाई दैलेखका पत्रकार भक्तबहादुर शाहीले साभार गरेर एउटा तस्विर सहित आफ्नो फेसबुक वालमा पोस्ट्याए । पत्रकार शाहीले ‘हाम्रो ठाटिकाँध गाउँपालिकाको चलन’ भन्दै शिशु काखमा राखेर गोठमा बसेकी एक महिलाको तस्विर सहित सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् । उनले पोष्टमा भिन्न भिन्न खाले तर्कहरु आएका छन् ।

त्यहाँ नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले लेख्नुभएको छ, ‘साच्चिकै पीडा बोध भयो । सामाजिक रुपान्तरण गर्न सारै कठिन छ । जो सजिलै हँुदैन सयौं बर्ष देखि चली आएका रितिरिवाज जो अति नै डोमिनेट संस्कार, विभेदकारी चलनचल्तीलाई अन्त्य गर्न नेपाल सरकारले अभियानको रुपमा सञ्चालन गरोस् र यी पीडित अवोध महिलाहरु माथी भएको अमानवीय र हिंसा रोक्न तत्काल स्थानीय सरकारले पहल गरोस् ।’

यस्तै पवित्रा सापकोटाले लेख्नुभएको छ,‘ म त स्तब्ध त्यतिबेला पनि भएको थिए, जहाँ बालविवाह (१५–१६ बर्षको उमेरमा) नै हुँदा पनि सामान्य मानेर आँखा चिम्लने जनप्रतिनिधि, महिनावारीको समयमा छाउगोठमा बस्ने कर्मचारी र जनप्रतिनिधि महिला (छोरा जन्मदा स्वास्थ्य सस्थामा बाजागाजा बजाएर रमाइलो गर्देे घर पुग्ने, खाने पिउने, उता सुत्केरीलाई अध्यारो गोठमा राख्ने र पोषिलो तातो खानेकुरा नखुवाउने……। यस्ता धेरै विकृति छन् त्यहाँ । गाउँपालिकाले चाहेमा यस्ता सामाजिक मुद्दालाई अभियान मार्फत परिवर्तन गर्न सम्भव छ तर अगुवाइ कस्ले गर्ने ? दुःख लागेर आउछ तर …।

यो सवालमा थुप्रै प्रतिक्रियाहरु आएका छन् । जसले ठाटीकाँध गाउँपालिकाको वास्तविकता चित्रणसँगै कुप्रथा अन्त्य हुनुपर्छ भन्ने आवाजहरु उठेका छन् । अब तीनै तहका सरकारसँगै गैरसरकारी संघ संस्था तथा आम नागरिकहरुले यस्ता खाले कुप्रथाहरु हटाउन विशेष पहल गर्नुपर्ने देखिन्छ । तबमात्र महिलाहरु महिनावारी हुँदा छाउगोठ वा गाई गोठमा बस्नुपर्ने बाध्यता सँगै सुत्केरी हुँदा गाई गोठको ओसिलो कुनामा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

प्रतिक्रिया