बालविवाह न्यूनिकरणका लागि अन्तरपुस्ता संवाद

बालविवाह न्यूनिकरणका लागि अन्तरपुस्ता संवाद

ज्वाला सन्देश संवाददाता
दैलेख : बालबालिका र अभिभावक एउटै कार्यक्रमका सहभागी । त्यो पनि दलित समुदायका । यसरी बालबालिका र अभिभावकलाई एउटै कार्यक्रममा सहभागी गराएर संवाद गर्ने प्रचलन प्रायः विरलै पाइन्छ । दैलेख जिल्लास्थित गुराँस गाउँपालिका–२ को डुडापोखराको दलित बस्तिका करिब २५ घरधुरिका अभिभावक र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु सँगै बसेर बालविवाह कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर संवादको सुरुवात गरे ।

कलिलै उमेरमा विहे गरेका कारण भोगेका अनुभव अभिभावकहरुबाट सुन्दा बालबालिकाको मन बहकिएको थियो । यस अघि उनीहरुले अभिभावकका यस्ता अनुभव कहिल्यै सुनेका थिएन्न । सानै उमेरमा विवाह गर्दा भएका असरको बारेमा सुन्दै गर्दा बालबालिकाले बालविवाहले पर्ने सामाजिक तथा आर्थिक समस्याको बारेमा बुझने अवसर पाए । सामाजिक, आर्थिक र राजनितिक रुपमा पछाडी परेको यो समुदायका किशोर किशोरीहरु १५/१६ वर्षकै उमेर बिहे गर्छन् ।

संवादमा अभिभावकहरुले आफ्ना सन्तान सामु बाल विवाह गरेका कारण भोगेका पीडा सुनाए । ३२ बर्षीया मोतिकला नेपालालीले १२ वर्षको उमेरमा विहे गरिन । छोरी हुर्किदै गएपछि बाबु आमाले राम्रो केटा भनेर मागी विहे गरिदिए । उनले आफुनो अनुभव सुनाउदै भनिन् ‘सानै उमेरमा विहे गरेका कारण मेरो स्वास्थ्य कमजोर छ, कमाएको पैसा औषधी उपचारमै खर्च गर्नुपर्ने बाध्यता छ ।’

उनका केही बच्चा गर्भमै तुहिए । केहीको जन्मदा जन्मिदै मृत्यु भयो । उनीसँग अहिले १ छोरा र १ छोरी छन् जुन शल्यक्रिया मार्फत जन्मिएका हुन् । उनले आशु झार्दै भनिन् ‘मैले सानै उमेरमा विहे गर्दा एकातिर स्वास्थ्य कमजोर भयो अर्काेतिर पढाई बिग्रियो, अब मेरो सपना मेरा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउने छ ।’ उनी बालविवाह विरुद्धकी अभियान्ता पनि हुन । उनको नेतृत्वमा बालविवाह रोकिएको छ ।

आमाको दःख सुन्दै गर्दा वर्ष १५ कि मोतिकलाकी छोरी सुस्मितालाई उमेर नपुगी विहे नगर्ने सोच पलायो । सुस्मिता अहिले कक्षा १० मा अध्ययनरत छन् । यस अघि उनले कहिल्यै आमाले भोगेका अनुभव सुन्न पाएकि थिइनन् । सुस्मिताले भनिन् बालविवाह कानुनी अपराध हो भन्ने त मैले सुनेकी थिए । तर आमाले कलिलै उमेरमा विहे गर्दा भोगेका अनुभवहरु सुनेकि थिई्न । आमाको भोगाई सुन्दा मलाई लाग्यो अव उमेर नपुगि विहे गर्दिन ।

वर्ष २४ कि यशोदाका ३ वटा बच्चा छन् । उनले १४ वर्षको उमेरमै विहे गरेकि हुन् । ५ कक्षा अध्ययन गर्दागर्दै उनले पनि विहे गरिन । २० वर्षमुनि बच्चा जन्मिए । त्यसैगरी १५ वर्षको उमेरमा विहे गरेकी डिलु नेपालीका पनि ३ वटा बच्चा छन् । उनी अहिले २५ वर्षकी भईन् । आमाले दोस्रो विहे गरेको र आर्थिक अवस्था कमजोर भएपछि कलिलै उमेरमा विहे गर्नुपर्ने बाध्यता भएको डिलुको अनुभव छ ।

त्यतिखेरको विहे रहर नभएर बाध्यता भएको टिका नेपालीको अनुभव छ । ३१ वर्षिय टिकाको विहे कलिलै उमेरमा भएको थियो । उनका ९ भाईवहिनी थिए । घरमा कमाउने कोही थिएन्न । आयआर्जन नभएपछि दैनिक जिविकोपार्जन र अध्ययन गर्न समस्या हुन्थ्यो । हुर्काउन गाह्रो भयो केटाकेटी धेरै छन् घरबाटै विहे गर भन्थे । आमा बाबुले पढाईदिए हुन्थ्यो भन्ने टिकालाई लागेको छ ।

पहिला मागेर हुने विवाह अहिले आफै गर्ने प्रचलन बढेको छ । कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संस्कारले पनि प्रभाव पार्ने जानकी पुन मगरको अनुभ छ । स्नातक तहमा अध्ययनरत २४ वर्षिया जानकीले अझै को सँग कहिले विहे गर्ने निर्णय गरि नसकेको बताईन् । उनले भनिन्, मेरा सबै दिदीहरुले ढिला विहे गरे । सायद त्यही भएर होला मेरो पनि विवाह ढिला भएको । मसँगका साथीहरुले २र३ वटा केटाकेटी जन्माईसके । मैले अझै विवाह गर्ने निर्णय गरिसकेकी छैन् ।

जानकी जस्तै ढिलो विहे गर्ने किशोरकिशोरीहरु समुदायमा कमै भेटिन्छन् । कोही आर्थिक, कोही सामाजिक त कोही पढाई विग्रेपछि कलिलै उमेरमा विहे गर्छन् ।

विवाह छिटो हुनुमा आर्थिक समस्या पनि एक प्रमुख कारण भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । उनले भने ‘बाल विवाह हुनुमा गरिवी प्रमुख कारण हो ।’ संसारमा दिनप्रतिदिन हुदैगरेको टेक्नोलोजीको परिवर्तनले गर्दा हरेक व्यक्तिका आवश्यकताहरु बढ्दै गएका छन् । ति आवश्यकता पुरागर्ने श्रोत परिवारमा पर्याप्त छैन् । केही यस्तो परिवार छन् उनीहरुलाई अहिले पनि विहान खाए बेलुकी छाक टार्नको समस्या हुने गर्छ ।

आधुनिक प्रविधिको प्रयोगले परिवार विखण्डन् हुदैछ । परिवारमा छलफल र कुराकानी हुदैनन् । न बालबालिकाको भावना अभिभावकले बुझ्ने गर्छन् न अभिभावकले बालबालिकालाई सल्लाह दिन सक्छन् । जस्ले गर्दा बालविवाहलाई प्रोत्साहन गरेको अधिकारीले बताए ।

प्रतिक्रिया