तीन करोड लागतमा बन्यो कबर्ड हल

तीन करोड लागतमा बन्यो कबर्ड हल

दैलेख सदरमुकाममा निर्माण भएको कबर्ड हल उद्घाटन गर्दै नारायण नगरका मेयर रत्नबहादुर खड्का लगाएत ।

दैलेख : दैलेख जिल्ला सदरमुकाममा कबर्ड हल निर्माण भएको छ । तीन करोड २६ लाख ८४ हजार नौ सय रुपैयाँ लागतमा कबर्ड हल निर्माण भएको हो । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतमार्फत हल निर्माण भएको हो ।

जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकामा कबर्ड हल निर्माण भएको हो । यहाँ रहेको त्रिभुवन माध्यामिक विद्यालयको जग्गामा कबर्ड हल निर्माण गरिएको हो । ०७५ जेठ २० गतेबाट निर्माण सुरु भएको कबर्ड हल ०७७ जेठ ३० गते सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । कबर्ड हल थेगिम जि.टी. जेभीले निर्माण सम्पन्न गरेको हो ।

दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाद्धारा शिलान्यास गरिएको कबर्ड हल आइतवार नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले उद्घाटन गरेका छन् । निर्माण सम्पन्न भएको झण्डै दुई बर्षपछि कबर्ड हल औपचारिक रुपमा उद्घाटन गरिएको हो । एक कार्यक्रमबीच कबर्ड हल उद्घाटनसँगै सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कबर्ड हल औपचारिक रुपमा नारायण नगरपालिका र त्रिभुवन मावीको मातहतमा रहनेगरी हस्तान्तरण गरेको छ ।

यसअघि जिल्लामा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा ब्याटमिन्टन, बक्सिङ, कराँते, तेक्वान्दो, भलिबल लगाएतका खेल खुल्ला चौरमा हुँदै आएका थिए । कबर्ड हल निर्माण भएसँगै कभर्ड भित्र सबै खाले इन्डोर प्रतियोगिता गर्न सहज हुने बताईएको छ ।

प्रतिक्रिया