भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने तय

भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने तय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्ने भएको छन्। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको भ्रमण कार्यतालिकामा सो कुरा उल्लेख छ।

प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै नेपालको लुम्बिनीमा आउनेछन। बिहीबार परराष्ट्र मन्त्रालयले  प्रधानमन्त्री मोदी औपचारिक भ्रमणका लागि सिधै लुम्बिनी आउनुहुने भ्रमण तालिका तय भएको जानकारी गराएको हो। प्रधानमन्त्री मोदी लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष समारोहमा सरिक हुने कार्यक्रम छ।

जेठ २ गते प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदाको केन्द्र निर्माणको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी छ। लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने भ्रमण तालिकामा उल्लेख छ।

यसैगरी, प्रधानमन्त्री देउवाले समकक्षी मोदी र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् । भारतका प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले गरेको छ।

प्रधानमन्त्री देउवा २०७९ चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा गएका थिए। भ्रमणमा उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । लुम्बिनीमा रहँदा भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड्काले भेट गर्नुहुने छ। प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तय भएसँगै दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

प्रतिक्रिया