पहिरो जोखिमको सवाल, संवेदशीलताको जरुरी
घटना १
२०५७ असार ४ गते डुङ्गेश्वर बजार नजिकको सिस्नेटारमा खसेको पहिरोले करिव ५० मीटर दूरीको सडक बगाएर लोहोरे खोलामा पु¥यायो । त्यही दिन पहिरोमा पुरिएर डुङ्गेश्वर बजारमा ४ जनाको ज्यान गयो । ठाउँठाउँमा सडक खसेको र पुरिएको कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भयो । २०४९ फागुन ७ गतेदेखि निर्माण आरम्भ भएको सडक २०५३ असोजमा दैलेख सदरमुकाम पुगेको थियो ।
बर्षातको समयमा अवरुद्ध भइरहने सडक ३० वर्षमा अब बाह्रै महिना चल्ने सक्ने भएको छ । जिल्ला सदरमुकाम जोड्ने सडक सधैं चल्न सक्ने बन्न ३० वर्ष लाग्यो । तर पछिल्लो समय स्थानीय सरकारलाई प्राप्त भएको विकास बजेट गाउँगाउँमा सडक विस्तार अभियानले पहिरोको जोखिम बढेको छ ।
घटना २
२०७७ भदौ १२ गते ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँको गोगनपानीदेखि बगेर चौडसम्म पहिरो खसेको थियो । त्यो घटनामा ३ जनाको ज्यान गएको थियो । भदौ १४ गते ठाँटीकाँध गाउँपालिका–२ जौचौर, प्याडुली र हुँइताको पहिरो माझाखेत र खोतडाको बगरसम्म पुगेको थियो ।
त्यही वर्ष गैरागाउँ–चौड–ठाँटीकाँध नयाँ सडकको ट्रयाक खोलिएको थियो, सकडकै कारण पहिरो गएको थियो । बिजारे–जौचौर–बाजपानी–बाह्रकोट–खुडखुडी–चामुण्डा जोड्ने सडक खनिएकै वर्ष गाउँपालिका–२ जौचौरको पहिरो खसेको थियो । त्यसबेला जौचौरमा मानवीय क्षति नभए पनि प्याडुली, गैराटोल, बाजागडाको दलित वस्ती जोखिममा छ ।
ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँको बगेर चौड पहिरोमा पुरिएका मानिसको शव खोज्दै स्थानीयहरु । तस्विर साैजन्य : निवर्तमान वडाध्यक्ष रमेश सिजापति ।
घटना ३
२०७६ गुराँस गाउँपालिका–२ बान्द्रेपुडेनी गाउँ पहिरोले बगाएर बस्नै नसक्ने भएपछि डुडापोखरामा सारिएको छ । त्यो गाउँका १४ घरपरिवारका ७१ जना विस्थापित भएको अवस्थामा गाउँपालिकाले बान्द्रेबाट डुडापोखरामा सारेको हो ।
स्याउलीबजार–रोशनीगैरा–पुडेनी–खड्क जोड्ने १० लाखको सडक खनेकै बर्ष बान्द्रेपुडेनीको बस्ती पहिरोले बगाएको थियो । १४ वटा घर बगाएपछि उनीहरुको पुनस्र्थापनाको लागि गुराँस गाउँपालिका र प्रदेश सरकारको ७१ लाख रुपैंयाँमा डुडापोखरामा ती घरहरु बनाइएको स्थानीय जयबहादुर ओलीको भनाई छ ।
घटना ४
२०७७ असार १३ गतेखेखि ठाँटीकाँध गाउँपालिका–१ मटेलाको बगर भन्ने उर्वर फाँटमा कोसेडीको खहरे बग्न थालेको छ । दैलेखबजार–राकम जोड्ने सडकको बिसल्ला–रामाघाट जोडिएर कोसेडी जाने सडक निर्माण गर्दा डोजरले भित्ता खन्दा थर्कावट (कम्पन) ले कमजोर भएको जमिन र नालीको अभावमा भारी वर्षातको बेला सडकसडकै भएर सोलिएर बगेको पानीले धान रोपिसकेको खेत बगरमा परिणत भयो ।
दैलेखको प्रशासनिक सडक र रामाघाट विशाला सडकको भलले ठाटीकाँध गाउँपालिका–१ मटेला छेउको बगरखेतमा पु¥याएको क्षती । तस्विर साैजन्य : पत्रकार बिसाल सुनार ।
माथि उल्लेखित चार घटना मानवीय क्षति भएका प्रतिनिधि उदाहरण मात्र हुन् । मुलुक संघीय संरचनामा गएर स्थानीय तहमा विकास बजेट बढेर आएपछि विकासका गतिविधि बढेका छन् । बजेट बढेपछि स्थानीय तहले सडक खन्ने कामलाई प्राथमिकता दिएका छन्, वातावरण संरक्षणको नीतिलाई वेवास्ता गरेर खनिने सडकले गाउँगाउँमा पहिरोको समस्या बढाएको छ ।
यो दैलेखको मात्र होइन, देशभरकै पहाडी जिल्लाहरुको साझा समस्या हो । कमजोर भू–बनोट, भौगर्भिक अवस्थिति र कमजोर प्रतिकार्य योजना निर्माण क्षमता समेतको हिसाबले दैलेख पहिरोको उच्च जोखिममा रहेका १० जिल्लाभित्र पर्दछ ।
विपद् जुनसुकै बेला पनि हुनसक्छ भन्ने ध्येले विकास निर्माणका गतिविधि सञ्चालन गर्न अघि नै जोखिमको आँकलन गरी त्यसै अनुसार जोखिम न्यूनीकरण योजना बनाउन सके पहिरो लगायत विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सकिने जानकारहरुको भनाई छ ।
‘विपद् नै रोक्न त सकिँदैन तर राम्रो पूर्वतयारी गर्नसके क्षति कम हुन्छ’ नेपाल सरकारको जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त आयोजना निर्देशक श्रीकमल द्विवेदीको भनाई छ । ‘चिरा परेको जमिन, बाढी आउने सक्ने ठाउँहरुमा सुरक्षित तरिकाले पानी तर्काउने गरी नाली, कुलो बनाउने ससाना पूर्वतयारीले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ’ वरिष्ठ भुगर्भविद् द्विवेदीले भने ।
ढल नबनाएको कारण चिरिएको सडक । दैलेखबजार–नौमूले खण्डको सोतको सडक । तस्विर : अमर सुनार ।
पहिरो लगायतका विपद् रोकथामका लागि मनसुन सुरु हुनु अगावै प्रकोपजन्य जोखिम न्यूनीकरणका निम्ति जोखिमको आँकलन, नक्शांकन, उद्धार सामग्रीको तयारी, जनशक्ति परिचालनको योजना, खोज तथा उद्घार समूह तयारीमा राख्ने लगायतका आवधिक योजना बनाउनुपर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति २०७५ ले अनिवार्य गरेको छ । यो स्थानीय सरकारको पनि दायित्व भित्रै पर्दछ ।
नीतिले यस्तो बताए पनि दैलेखमा योजना अनुसार काम हुनसकेको देखिएको छ । मनसुन सुरु नहुँदै जोखिमको आंकलन गरी पूर्व तयारी गर्न बस्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएको कारण जनाएर मनसुन सुरु भएपछि बसेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरु पनि योजना बनाउन व्यस्त भएको कारण मुख्य भूमिका रहेका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थितिमा मंगलवार बसेको बैठकले विकास योजनाहरु सञ्चालन गर्दा वातावरणीय प्रभाव प्रतिकुल हुन नदिन सजगता अपनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।
दिगो भूव्यवस्थापन नीति अनुुसार उब्जाउ भूमि मासेर घडेरी प्लटिङ्ग गर्न नदिने, बाढी पहिरो रोकथामका लागि सरकारले असार, साउन र भदौ महिनामा सडक खन्न नदिने, सडक यातायात अवरोध हटाउन तयारी रहने र विपद्का घटना हुनासाथ जनशक्ति परिचालन गर्न साधन श्रोतको तयारी अवस्थामा राख्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।
जिल्ला स्तरमा विपद् व्यवस्थापन समितिको बैठक बस्न ढिलाई भए पनि केही पालिकाहरुले आफैले स्थानीयस्तरको विपद् जोखिम न्यूनीकरणका काम थालेका छन् । युएसएआइडीको ‘तयार नेपाल’ को पहलमा दुल्लू नगरपालिकाले नयाँ जनप्रतिनिधिले पद बहाली गरे लगतै जेठको दोश्रो साता विपद् व्यवस्थापन समितिको बैठक गरेको छ ।
लोहोरे खोलाको बाढीले प्रभावित पार्न सक्ने दुल्लू नगरपालिका वडा नं. १ तल्लो डुङ्गेश्वर, पहिरोको जोखिम रहेको कर्णाली राजमार्गसँग जोडिएको वडा नं. २ को सुवाछेडा, वडा नं. ६ को तोलीपानी समेतमा मनसुनी वर्षातले क्षति पु¥याउन सक्ने पूर्व अनुमान गरी रोकथामका उपाय बारे प्रतिकार्य योजना निर्माण गरिएको दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बताए ।
विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको ‘तयार नेपाल’ परियोजनाले दुल्लू नगरपालिकालाई विपद्का विषयमा नीति, योजना निर्माणमा मद्दत गर्नका साथै कम्यूटर, प्रिन्टर, विद्युत व्याकअप लगायतका उपकरण दिएर संस्थागत विकासमा सहयोग पु¥याएको ‘तयार नेपाल’का जिल्ला संयोजक श्रद्धा योगीले जानकारी दिइन् ।
दुल्लू नगरपालिकाको गमौडी–विनायक सडकमा क्वीक सपोर्ट कार्यक्रमले गरेको पहिरो रोकथामको काम । तस्विर : अमर सुनार ।
‘तयार नेपाल’ ले नगरपालिकालाई विपद् व्यवस्थापन योजना निर्माण प्राविधिक काममा सघाउँदै नगरपालिकाको कार्ययोजना अनुसार आवश्यकता अनुसार सहयोग गर्दै आएको छ । गमौडीबाट कालभैरव हुँदै विनायक जोड्ने सडकमा ठाउँठाउँमा पहिरो रोकथामकालागि श्रमिकहरुलाई क्वीक सपोर्ट कार्यक्रममा काम लगाएको थियो ।
२०७६ चैत ११ देखि चार महिना लामो लकडाउनमा भारतमा मजदूरी गुमाएर फर्किएका कामदारहरुलाई खाद्यन्न सहयोग पु¥याउन उद्देश्यले त्यसबेला शिघ्र सहयोग गरेको हो । भारतबाट फर्किएकाहरु बेरोजगार भएका बेला गाउँकै सडकको पहिरो रोकथाममा प्रयोग गर्न सडकको जाली भर्ने, बाँस र घाँस रोप्ने जस्ता वातावरण जोगाउने काम समेत गराएको भन्दै निवर्तमान उपमेयर बिष्णु थापा अहिले पनि मुक्तकण्ठले प्रशंसा गर्छिन् ।
‘तयार नेपाल’ले अघिल्लो वर्ष दुल्लू नगरपालिका–२ बडापोखरा जाने शान्तिबजार–दुधेमालिका सडकको नाली खन्ने, भूक्षय रोक्न सडक किनारामा घाँसको बिरुवा लगाउने काम गरेको छ । वन वातावरणको क्षेत्रमा सहयोग पु¥याउन काँडागाउँ–ठाडोखोला सामुदायिक वन उपभोक्ता समूह मार्फत गरिएको थियो ।
दुल्लू नगरपालिका–२ को शान्तिबजार–दुधेमालिका सडकमा भूक्षय रोक्न सडक किनारामा घाँसको बिरुवा । तस्विर : अमर सुनार ।
समुदायसँग सहकार्य गर्ने क्रममा ‘तयार नेपाल’ ले अघिल्लो वर्ष दुल्लू नगरापालिका–४ टिमुरगाउँ–कृष्णकोट सडक क्षेत्रमा पहिरो रोकथामका लागि सडकको पर्खाल लगाउन र बृक्षरोपणको काम गरेको छ । ओसिलो र सिमक्षेत्र भएको कारण वर्षौैदेखि हिउँदमा समेत पहिरो बगिरहने समस्या टरेको छ ।
दूल्लु नगरपालिकाले गरेको प्रयास र हासिल अनुभव, सिकाई हेर्दा वातावरणीय प्रभाव मूल्यांकनलाई वस्तुगत रुपमा बिश्लेषण गरेर मात्र विकास निर्माण कार्यहरु गर्ने, विपद् व्यवस्थापनको बलियो पूर्वतयारी, प्रकोप नियन्त्रणमा प्राथमिकता, आधुनिक तथा सुरक्षित पूर्वाधार, भूउपयोग नीति एकीकृत वस्ती विकास, श्रोत साधन तथा तालिम प्राप्त जनशक्ति लगायतका कामहरु प्रभावकारी गराउन सके पहिरोको जोखिम टार्न र त्यसबाट आईपर्ने विपद्का घटनालाई समाधान गर्न सकिन्छ ।
दुल्लू नगरापालिका–४ टिमुरगाउँ–कृष्णकोट सडकमा पहिरो रोक्न लगाइएको पर्खाल र बाँसको बार । तस्विर : अमर सुनार ।
दुल्लू नगरापालिका–४ टिमुरगाउँ–कृष्णकोट सडकमा पहिरो रोक्न सडकको भित्तामा बनाइएको नाली । तस्विर : अमर सुनार ।
सदरमुकाममा मजदूरी गर्ने बादी समुदायका लागि प्रवन्ध गरिएको नारायण नगरपालिका–१ दैलेख बजारको नमूनावस्ती पहिरोको जोखिममा छ, यस्ता बस्तीहरुलाई स्थानीय सरकारले सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ ।
२०६० सालमा केही सजिलो भागमा बसालिएका १४ बाहेक भीरकान्लामा ३५ भन्दा बढी घर थपिएपछि जोखिम बढेको हो । पाँच वर्ष अघि यहाँ पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको थियो । यो डाँडाको समतल ठाउँमा सुरुमा बसाइएका १४ घरले आफन्तहरु बोलाउदै भीरकान्लामा घर बनाएका हुन् ।
दैलेख सदरमुकाम नजिकैको जोखिम युक्त नमूनावस्ती । पहिले बसाइएको बस्ती सुरक्षित छ, पछि थपिएका जोखिममा छन् । तस्विर : अमर सुनार ।
दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वरमा लोहोरको बाढीबाट जोगाउन सहरी विकासले २३ परिवारलाई बादी समुदायलाई घर बनाइसक्दा पनि खोला किनाराको घरहरु छोडेका छैनन् ।
१० वर्ष अघि बाढीले घरहरु क्षति पु¥याएको कारण फेरि पनि बाढीले मानवीय वा भौतिक क्षति नपुगोस् भने सरकारको साधन श्रोत खर्च भइसक्दा पनि खोला किनाराका घर न छोडेको अवस्थामा आकस्मिक केही क्षति भइहाले यसको जिम्मेवार को हुने ? यसबारे नयाँ घर पाएहरुले नै ख्याल पु¥याउन जरुरी छ ।
स्थानीय सरकारलाई प्राप्त बजेट र अधिकारको सदुपयोग गरेर साधन श्रोतको उचित व्यवस्थापन गर्दै नागरिकलाई पहिरो लगायतका विपद्को जोखिमबाट जोगाउने अवसर छ । जसकालागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्न सके विपद्को जोखिम कम गर्न र विपद् भइहाले पनि क्षति कम गराउन सहयोग हुनसक्छ ।
प्रतिक्रिया