राज्यपालदेखि पहिलो आदिवासी राष्ट्रपतिसम्म

राज्यपालदेखि पहिलो आदिवासी राष्ट्रपतिसम्म

(नयाँदिल्ली)  भारतको १५ औं राष्ट्रपतिमा आदिवासी समुदायकी द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । उनी भारतको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी र दोस्रो महिला हुन् । उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनका तर्फबाट राष्ट्रपति चुनिएकी हुन् । झारखण्डकी पूर्वराज्यपाल मुर्मूले कांग्रेससहितको विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गरेकी हुन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मू ओडिसाकी हुन् । ६४ वर्षीया मुर्मूले आगामी सोमबार सर्वोच्च अदालतका मुख्य न्यायाधीशबाट शपथ लिने तय गरिएको छ । भाजपाले यसअघि दलित समुदायका रामनाथ कोविन्द र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।
यसअघि मुर्मू ओडिसाबाट विधायक र राज्य सरकारको मन्त्री बनिसकेकी छन् । भाजपा गठबन्धनले उनलाई झारखण्डको राज्यपालसमेत बनाएको थियो । सन् १९५८ जुन २० मा मयूरभन्ज जिल्लाको बैदापोसी गाउँमा जन्मिएकी मुर्मू त्यहाँको आदिवासी समुदायकी हुन् । उनी झारखण्डमा करिब ६ वर्ष राज्यपाल भएकी थिइन् । स्नातकसम्मको अध्ययन पूरा गरेकी उनी ओडिसा सरकारको ‘क्लर्क’ मा जागिरे थिइन् । सिँचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम गरेकी मुर्मू केही समय शिक्षण पेसामा आबद्ध थिइन् । उनी भाजपाबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक विधायक बनेकी थिइन् । दुईपटक मन्त्री बनेकी उनलाई सन् २००७ मा ओडिसामा सर्वश्रेष्ठ विधायकका रूपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारको सिफारिसमा उनी सन् २०१५ मा झारखण्डको राज्यपाल नियुक्त भएकी थिइन् । उनका पति श्याम चरण मुर्मूको भने निधन भइसकेको छ । उनका तीन सन्तानमध्ये दुई जनाको निधन भइसकेको छ भने एक विवाहित छोरी छिन् । भारतको संविधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरूको कुल मतमूल्य १० लाख ८६ हजार ४ सय ३१ मध्ये ५० प्रतिशतभन्दा बढी ल्याउने उम्मेदवार राष्ट्रपति पदमा विजयी हुन्छन् ।

एनडीए गठबन्धनसँग भोट संख्या बढी भए पनि जितका लागि आवश्यक संख्या पुगेको थिएन । तर, मुर्मूको उम्मेदवारीले विपक्षी दलमा एकजुट रहिरहन नसकेपछि उनको विजयी हुने वातावरण बनेको हो । महिला तथा आदिवासी भएका कारण विपक्षी गठबन्धनका कतिपय दलले मुर्मूलाई खुलेर समर्थन गरे । त्यसका साथै केही क्रस भोटिङ पनि भएको जनाइएको छ ।

विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमूल कांग्रेसलाई पनि मुर्मूको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो । आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयं तृणमूल कांग्रेसका अध्यक्ष ममता बनर्जीलाई पनि समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बंगालमा चुनावी प्रचारका लागि आउन रोक लगाइन् । त्यसले पनि सिन्हालाई अप्ठ्यारो पारेको थियो । राष्ट्रपति रामनाथ कोविन्दको ५ वर्षे कार्यकाल सकिन लाग्दा चुनाव भएको हो । भारतको लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरूले राष्ट्रपति छान्ने चुनावमा मतदाता गर्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो । सबैतिरबाट मतपेटिका दिल्लीमा ल्याएर गणना गरिएको हो । भारतको राष्ट्रपति कार्यकारी पद भने होइन । राष्ट्रपतिको चुनावमा आम मानिसले प्रत्यक्ष मतदान गर्दैनन् । लोकसभा, राज्यसभा र विधानसभामा निर्वाचित भएका सदस्यहरू राष्ट्रपति चुनावका मतदाता हुन् । लोकसभा वा राज्यसभामा मनोनीत सदस्य भने मतदाता हुँदैनन् । लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । उनीहरू सबैले राष्ट्रपतिका लागि मतदान गर्छन् । सोमबार भएको मतदानमा ९९.१८ प्रतिशत मत खसेको थियो ।

भारतका राष्ट्रपतिले मासिक ५ लाख रुपैयाँ तलब र भत्ता पाउँछन् । सन् २०१७ अघि राष्ट्रपतिको तलब डेढ लाख मात्रै थियो । राष्ट्रपतिले निःशुल्क स्वास्थ्य सुविधा, घर, बिजुली, टेलिफोनलगायतका सुविधा पाउँछन् । उनको सुरक्षामा ८६ जना विशेष अंगरक्षकहरू तैनाथ हुन्छन् । उनको सवारीमा २५ वटा गाडीको पंक्ति हुन्छ । दिल्लीमा रहेको राष्ट्रपति भवन नै उनको आधिकारिक निवास हुन्छ । त्यहाँ ३ सय ४० कोठा छन् । भारतका पूर्वराष्ट्रपतिले मासिक डेढ लाख पेन्सन प्राप्त गर्छन् । त्यसबाहेक निजी कर्मचारी, घर, गाडी र सुरक्षाकर्मीलगायतका सुविधा पाउँछन् । कान्तिपुरबाट

प्रतिक्रिया