अब मनोवैज्ञानिक परिवर्तन जरुरी : अध्यक्ष थापा

अब मनोवैज्ञानिक परिवर्तन जरुरी : अध्यक्ष थापा

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले अब मनोवैज्ञानिक परिवर्तन जरुरी रहेको बताएका छन् । वल्र्ड भिजन इन्टरनेशनल नेपालद्धारा आयोजित समुदायबाट आएका बालबालिकाको समस्याको प्राथमिककरण तथा जानकारीका लागि गाउँपालिका भेलामा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले बालबालिकाको क्षेत्रमा नविनतम् काम गर्नका लागि मनोवैज्ञानिक रुपमा नयाँ दृष्टिकाण बनाउन जरुरी रहेको बताए । अर्को प्रसंगमा अध्यक्ष थापाले विश्वको दूरदृष्टि बालबालिकामा पुगेको र त्यो दूरदृष्टि भगवतीमाई गाउँपालिकामा पनि लागु भएकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष थापाले गाउँपालिका र वडा तहमा तय गरिएको बालबालिका लक्षित बजेट र कार्यक्रम र वल्र्ड भिजन इन्टरनेशनल नेपालको कार्यक्रमसँग समन्वय गरेर सञ्चालन गर्न निर्देशन दिए । सामाजिक विकृति विसंगती विरुद्ध मन देखिनै लागि पर्न अध्यक्ष थापाले आग्रह समेत गरेका छन् । उनले बाल विवाह हुनै नदिने वातावरण सृजना गर्न समेत आह्वान गरे । गाउँपालिकाका भित्रका विद्यालयहरुमा सेनेटरी प्याड अभाव रहेको गुनासो आएको बताउँदै गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिए ।

उपाध्यक्ष मिना कुमारी खड्काले गाउँपालिकामा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा वल्र्ड भिजनले गर्न खोजेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिन् । वल्र्ड भिजनले सञ्चालन गर्न खोजेको गतिविधिलाई गाउँपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्ने उपाध्यक्ष खड्काले प्रतिबद्धता जनाइन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापाले बालबालिकाको क्षेत्रमा भगवतीमाई गाउँपालिका ‘स्वथ्य, सभ्य र सुरक्षित बालबालिका : प्रविधिमैत्री भगवती गाउँपालिका’ हुने गरी तय गरिएको नारालाई सफल बनाउन सबैले आ–आफ्नो तह र तप्काबाट लाग्नुपर्ने बताए । यो नारा वल्र्ड भिजनको नभई भगवतीमाई गाउँपालिकाको भएको बताए ।

कार्यकारी प्रमुख थापाले बाल विवाह न्यूनिकरण अहिलेको प्रमुख प्राथमिकता रहेको बताए । बाल विवाहको समस्यालाई अन्त्यसँगै कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्न ठोस अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका छन् । त्यसको अगुवाई जनप्रतिनीधि गर्न समेत कार्यकारी प्रमुख थापाले आग्रह गरेका छन् ।

कार्यक्रमले वल्र्ड भिजन इन्टरनेशनल नेपालद्धारा सञ्चालन हुने कार्यक्रमका लागि ‘जीवनका लागि शिक्षा’ क्षेत्रको सवाललाई प्राथमिकरण गरिएको छ । बालबालिकाको जीवनका लागि शिक्षा, हेरचाह पाउनु संरक्षित र सहभागि हुनु, बालबालिकाले माया पाउनु र मुल्यवान महसुश गर्नु तथा असल स्वास्थ्यको आनन्दको सवाल मध्ये ‘जीवनका लागि शिक्षा’ क्षेत्रको सवाललाई प्राथमिकरण गरिएको हो । आगामी १० वर्षका लागि सञ्चालन हुने कार्यक्रमपछि बालबालिकाको क्षेत्रमा भगवतीमाई गाउँपालिका ‘स्वथ्य, सभ्य र सुरक्षित बालबालिका : प्रविधिमैत्री भगवती गाउँपालिका’ हुने गरी मुल नारा समेत तय गरिएको छ ।

प्रतिक्रिया