काेराेना कहर : दलित माथि थप अर्को विभेद !
दैलेख : महादेव मावि मेतलपाटाकी कक्षा ७ की १२ वर्षीया टीका बिक गएको २०७६ चैत ३ गते परीक्षा दिई बाजेबज्यै भेट्न बुबासंग बर्दियाको ढकेरी पुगिन् । चैत १२–१४ तिर पहाड फर्किने योजना थियो । एक साता नपुग्दै २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले लगाएको लकडाउनले उनीहरु घर फर्किन पाएनन् ।
भारतबाट फर्किएका नागरिकहरु ल्याउने गरेका गाडीमा घुसेर आउने विकल्प थाहा पाएर टीका आफ्ना बुबा, आफ्नो ठूलो भाई, अंकल–अण्टी र उनको छोरा अर्थात टीकाको भाई ६ जनासंगै ०७७ जेठ ७ गते दैलेख पुगे ।
कोहलपुरबाट गाडी चढ्दा भारतबाटै आएका तर पैदल हिंडेर त्यहाँ पुगेका भन्ने भाउबिन्ती लगाएर भारतबाट फर्र्किएकाहरुसंग मिसिएर दैलेख सदरमुकाम पुगे तर अरु बेला जस्तो सोझै घर जान पाएनन्, उनीहरु समेत सबै जना नारायण क्याम्पस क्वारेण्टीनमा बसे ।
क्वारेण्टीनमा बसेकै बेला १७ दिनपछि पीसीआर परीक्षणमा उनका बुबालाई कोरोना पुष्टी भयो । कोरोना नेगेटिभ आएका सबै घर जान पाए टीकाका बुबालाई मात्र नारायण क्याम्पसमा बस्नु पर्ने भयो । अरुलाई त्यहाँ बस्न नमिल्ने अनि बुबालाई घर लिन नपाइने, जान मिल्ने जति घर गए ।
लकडाउनको समय गाडी नचल्ने विहानै दैलेख सदरमुकामबाट दिनभर पैदल हिंडेर २०७७ जेठ २३ गते साँझ लखतरान भएर आमाको समीपमा पुगे । उनको बुबालाई कोरोना पुष्टी भएको कुरा उनीहरु नपुग्दै गाउँभरी फैलिसकेको थियो ।
घर पुग्नै लाग्दा घरदेखि तल सार्वजनिक धारामा पानी पिउन खोज्दा पानी भर्न आएकी एक बयस्क बाहुन समुदायकी महिलाहरुले धारा छुन आउने भनेर टीकालाई हप्काइन् । त्यही धारामा पटक पटक जातीय विभेद खेपेकी टीकाका लागि पहिले जातको विभेद सामान्य सांकेतिक हुन्थ्यो तर यसपटक चाहिं प्रत्यक्ष र आक्रोसपूर्ण पाइन ।
उमेरले १२ वर्षकै भए पनि त्यो गाउँमा पाइलैपिच्छे हुने विभेद भोगेकी टीकाले बाहुन समुदायकी ती महिलाको आक्रोस जान्न सोधिन् किन सिसाउनुभयो फुपू ? उनको उत्तर आयो ‘हामीलाई थाहा छैन ? बालाई बजार छोडेर तिमीहरु कोरोना ल्याएर आएका छौ ।’
कोरोनाको बाहनाले जातको विभेद सजिलै ओकल्न उनका लागि यो मौका बन्यो भन्ने कुरा बुझ्न गाह्रो थिएन तर विवाद साम्य पार्न आफै चुप हुनु उपयुक्त ठानिन् टीकाले । पाँच मीनेट उकालो हिंडेर घर पुगिन् तर यो खवर आमालाई भनिनन् ।
घरमा आमाको साथमा भएको भाई, टीकाका साथमा आएका ठूलो भाई, अंकलका तीन जना एकै घरमा खान बस्न थाले । टीकाका बुबालाई कोरोना पोजेटिभ भएको सन्देश पुगेदेखि नै सामाजिक विभेद भोग्न लागेकी छँदै थिइन । पैदल हिंडेर लखतरान आइपुगेका टीका सहित पाँच जना थपिएपछि विभेद र असामाजिक वातावरणले पलपल अपमानित गरायो ।
गाउँ पुगेपछि गाईबस्तुको लागि घाँसपात काट्न, भान्छाको लागि दाउरा ल्याउन वनमा जानै पर्ने तर पहिले संगत गरिरहेका साथीहरु पनि बोल्न र संगत गर्न बेवास्ता गरेको देखेर टीकालाई खिन्नता भयो ।
धारा–पँधेरा, मेलापात वा टोलछिमेकको भेट भलाकुसारी पनि टीकाको परिवार समाजबाट बहिस्कार जस्तै भयो । यही क्रममा भगवतीमाई गाउँपालिकाले भारतबाट आएका नागरिकहरुलाई बेस्तडामा राखेको क्वारेण्टीनमा बसेका मध्ये ७ जनालाई जेठ २८ गते कोरोना पेजेटिभ भएको खवर आयो । ती मध्ये २ जना त्यही गाउँका १ जना चाहिं खड्का र अर्को बाहुन समुदायका थिए ।
खड्का भारतबाट आएका र बाहुन चाहिं सुर्खेतबाट घर आउन लाग्दा भारतबाट आएकाहरुसंगै एउटै गाडीमा संगतमा आउने क्रममा कोरोना संक्रमण भएको पनि टीकाले थाहा पाइन् । संयोग उनी गाउँ पुग्न नपाउदै धारामा विभेद गर्ने बाहुन समुदायकी ती महिलाको देवर रहेछन् । त्यहाँ थाहा पाएर घरका कसैलाई सूचना नदिएर टीका ती महिलाको घरमा गइन् र सोधिन् ‘फुपू, तपाईंकै देवरलाई पनि कोरोना लागेछ छ है ?
यो खवर उनलाई पनि आइसकेको रहेछ ती उनले भनिन् ‘अँ हो, कोरोना भन्ने रुघाखोकी जस्तै त हो नि । हप्ता दश दिन गाउँपालिकाले खानेबस्ने व्यवस्था गरेको छ, निको भएर आइहाल्नुहुन्छ ।
टीकाले फेरि सोधिन् त्यो दिन त मेरो बुबालाई कोरोना लागेको विषयलाई छिछी र दूरदूर गर्नुभएको थियो त ? आज आफ्नै देवरलाई लाग्दा सामान्य भयो ? यसको पनि ती महिलाले कुटिलता पूर्वक जवाफ फर्काइन् ‘कोरोना लागेको मान्छे पनि मान्छे हो माया ममता र सद्भाव देखाउनुपर्छ ।’
अनि यो कहिले कसरी थाहा पाउनुभयो फुपू ? टीकाले बाहुन्नीलाई सोधिन् । ‘रेडियोबाट सुनेको हो । ठाउँठाउँमा संक्रमित व्यक्ति र उनका परिवारलाई अपहेलना भइरहेको र त्यस्तो नगर्न रेडियोले भनेको सुनेको हुँ ।’ बाहुन समुदायकी ती महिलाको यो उत्तरपछि आफैलाई पर्दा चेत खुल्दा रैछन् भन्ने बुझेर टीका घर फर्किन ।
असार ६ गते टीकाका बुबा घर आइपुग्दा अंकल–अन्टी बिरामी बोक्ने एक्बुलेन्स प्रवन्ध गरेर बर्दिया फर्किसकेका थिए । झरी पर्न सुरु गरेको थियो । बुबा पुग्दापुग्दै गाउँमा रोपाईँ सुरु भए तर खेतमा अरिम परिम चलेन । दिनदिनै परिवारका सदस्यहरु जुटेर खेत रोपी भ्याए ।
टीका रोपाईँ सकेपछि साउनको दोश्रो साता स्कूल सुरु भएको थियो तर साउन त के भदौमा पनि स्कूले खुलेनन् । त्यसो हुँदा टीका र उनका दुई भाई गोठालो र घरकै काममा व्यस्त भए ।
स्कूलबाट असारमा दिएको किताव उनीहरुले पढ्न पाएनन् । घरमा रेडियो नभएकोले रेडियो शिक्षा पनि पाएनन् । कहिले काही साथीहरुले रेडियोबाट पढ्न सिकाएको पाठको पाना पल्टाएको देखे बाहेक आफैले त्यो सुविधा लिन पाएनन् ।
गाउँपालिका मुकाममा अघिल्लो वर्ष पुग्यो तर ८–१० मीटर दूरीको मेतलपाटामा बिजुली पुगेको छैन । बिजुली नहुँदा टीभी उनीहरुको रहरै मात्र हो । बुबाको हातमा की–प्याड मोवाइल छ त्यसले अरु साथी जस्तो अभिभावकै मोवाइलमा अनलाइन कक्षा पढ्न विकल्प पनि सपना मात्र भयो ।
असोजको १२ गतेदेखि विद्यालय खुल्यो, अलिअलि विद्यार्थी स्कूल आउने बानी पर्दै थियो । कक्षा पढाई हुन सुरु गरेकै थिएन । प्रशासनले कोरोना संक्रमण बढ्न सक्छ भन्ने आंकलन गर्दै असोज २२ गतेदेखि बन्द ग¥यो । विद्यालय बन्द भए पनि विकल्पमा प्रविधि प्रयोग गर्न नसक्ने निरास भए ।
कोरोना महामारी कक्षामा नियमित पढाई हुँदा कक्षा दोश्रो टीका प्रविधिको पहुँतबाट टाढा भएको कारण स्कूल नखुलेरै यिनै प्रविधिको भरोसामा परीक्षा भइदियो भने सबै भन्दा लमजोर हुने पो हो कि भन्ने पीर थियो टीकालाई ।
आर्थिक श्रोतमा हस्तक्षेप भएपछि धेरै दलितहरु भारतमा मजदूरी गर्न गए । घरमै हुनेहरु पनि गाउँमा मजदूरी गरेर जेनतेन टारे । उनीहरुका कमाई राम्रो नभएको कारण उनका बालबालिकाहरु सरकारी स्कूलमा पढ्छन् । अधिकांश दलितकै बालबालिकाहरु हुने भएकोले सरकारीमा पढाई राम्रो भएन । पढाईमा राम्रो गर्न नसकेपछि पढ्दै गरेका बालकहरु मुग्लान् जाने अनि बालिकाहरु पढाई छोडेर बालविवाह गर्न वाध्य भए । सरकारी निरीहता वा बेवास्ताले दलित समुदायमा गरिबीको चक्र घुमिरहेको छ । अर्को तर्फ जात व्यवस्थामा आधारित सामाजिक संस्कारले कोरोनाको विभेद पनि दलित माथि थप अर्को विभेद थपियो ।
कोरोना अर्थात कोभिडको अर्को विभेद थपिएको कुरा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय डम्वर नेपाली पहिलो कोरोना पोजेटिभ भएको र हालसम्म ३७ सय ४३ मध्ये झण्डै आधा संख्या १९ सय ९३ जना दलित परे । भएबाट माथि उल्लेखित टीका विकको जातीय उत्पीडनको थिचामिचो प्रति संक्रमितका २ जनाको दर लगाए । कोरोनाले दलित समुदाय कोभिड र जातीय विभेदको दोहोरो विभेद भोग्न बाध्य भए ।
दलितहरु नै प्रभावित भएको कारण यसलाई स्थानीय सरकारहरुले कोभिड प्रभावितका लागि रोजगार वा स्वरोजगारका कार्यक्रम केही ल्याएका छैनन् । न त प्रदेश सरकार र केन्द्र सरकारले यसलाई दलित समुदायका लागि नीतिगत कार्यक्रम ल्यायो ।
प्रतिक्रिया