बिहारको मुख्यमन्त्रीमा नीतीश कुमार, आठौँ पटक शपथ

बिहारको मुख्यमन्त्रीमा नीतीश कुमार, आठौँ पटक शपथ

काठमाडौँ :  बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नीतीश कुमारले पटना राजभवनमा आज बुधवार शपथ लिएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका छन् । सात दलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो । तेजस्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिएका छन् । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जित्न माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधान सभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नीतीश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ । एजेन्सी

प्रतिक्रिया