एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने भएको छ। केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सचिवालय बैठक बस्ने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

एमालेविरुद्ध सत्ता गठबन्धन आबद्ध दलले सिट बाँडफाँट गर्न कार्यदल बनाएर गृहकार्य थालेपछि एमालेले निर्वाचन केन्द्रित भएर आन्तरिक तयारी गर्न लागेको हो।

बैठकमा समसामयिक राजनीति, आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीको विषयमा छलफल हुनेछ । एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ।

सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ । स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन गरेका सत्ता गठबन्धनमा आवद्ध दलहरुले आगामी निर्वाचनमा समेत गठबन्धन गर्ने निर्णय गरेका छन् । निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तोकेको छ ।

कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई–दुई जना सदस्य छन्। जसमा महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्।

प्रतिक्रिया