बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो

बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो

काठमाडौं : नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवं नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्धत पुग्ने विश्वास लिइएको छ । यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया