सुरक्षाको कवज बन्दै किशोरी आत्मरक्षा अभियान
दैलेख : आठबीस नगरपालिका–५ स्थित एक गाउँकी २३ वर्षीया युवती जेठको अन्तिम साता वनमा घाँस काट्न गएको बेला गाउँकै चिनेजानेको २४ वर्षीय विवाहित युवकले एक्लै देखेर बलात्कारको प्रयास गरे, तर, ती युवती जसोतसो जोगिन सफल भइन् । ‘श्रीमान् वैदेशिक रोजगारीमा भएकी मान्छे तिमीलाई पनि चाहना हुन्छ होला’ भन्दै ती युवकले बलजफ्ती बलात्कारको प्रयास गरेका थिए । त्यो घटनाको दुई साता अघि राकमकर्णालीमा आयोजित किशोरी आत्मरक्षा तालिममा सहभागी भएर सिकिएको सीपले बलात्कार हुनबाट जोगिएको ती युवतीले बताएकी छिन् । उनी बलात्कृत हुनबाट जोगिएपछि ‘आफूले जानेको सीपले पो जोगिएँ नत्र बलात्कृत भएकी हुन्थे होला’ उनले यो बयान दिएर प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी गरिन् ।
उनको उजुरी अनुसार प्रहरीले आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सकेर असार १६ गते जिल्ला सरकारी वकील कार्यालय मार्फत दैलेख जिल्ला अदालतमा पेश भएको मुद्दामा त्यही दिन थुनछेक बहसपछि आरोपित व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
भगवतीमाई गाउँपालिका–५ कट्टीकी आशा बिक साउनको ४ गते इन्सेकले आयोजना गरेको किशोरी आत्मरक्षा तालिममा सहभागी भएदेखि के कस्ता भाषा, संकेत वा व्यवहार र हर्कत यौन दुव्र्यवहार र बलात्कार उद्देश्यका हुन्छन् ? भन्ने थाहा पाएकी छिन् ।
यौनजन्य दुव्र्यवहार र बलात्कार घटनाबाट कसरी जोगिने ? भनेर आत्मरक्षा सीप सिकाउन केही नमूना अभ्यास गरेको बेला देखेकोबाटै आत्मबिश्वास बढाएको आशाको भनाई छ । त्यो तालिम विद्यालय गइरहेका किशोरीहरुका लागि झनै उपयोगी भएको चाँदनी थापाको बुझाई छ ।
तालिम चलाउन गएकी सहजकर्ता सुनिता सोनीको टोलीको प्रस्तुतीलाई अतिथि दर्शक बनेकी भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीना खड्काले यो टोलीलाई गाउँगाउँमा अभिमुखीकरण गराउन गाउँपालिका बजेट बिनियोजन गर्ने बचन दिइन् ।
कर्णालीमा विगत चार वर्षदेखि सञ्चालित बालिका बचाउ अभियानको प्रशिक्षक टोलीले इन्सेकको अधिकार–२ परियोजना कार्यक्षेत्रका युवायुवतीहरुलाई दिएको एक हप्ते प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भएकी सुनिताले आफूसंग पढ्दै गरेकी किशोरीहरुलाई नै गराएको अभ्यास अनुसार ७ जनाको टोलीले विभिन्न विद्यालय तथा बस्तीस्तरमा आत्मरक्षा अभिमुखीकरण चलाईरहेका छन् ।
अभियानकै क्रममा नारायण क्याम्पसका किशोरी तथा युवतीहरुका लागि किशोरी आत्मरक्षा अभिमुखीकरण लिएर टोलीको प्रस्तूती हेरिसकेपछि क्याम्पसका उपप्राध्यापक अधिवक्ता सुरेन्द्र अधिकारीले १२ कक्षा उत्तीर्ण गरेका, कोही १२ पढ्दै गरेका ती किशोरीहरुको अनुशिक्षण अझैं बढी प्रभावकारी देखेको टिप्पणी गरे ।
उच्च शिक्षा पढ्न पनि सदरमुकामको नारायण क्याम्पस ताकेका टोलीलाई ‘तिमीहरुको टोली छिट्टै नारायण क्याम्पसमै पढ्न आऊ है’ भनेर विद्यार्थी स्वागतको तत्परता उपप्राध्यापक अधिकारीले झल्कए ।
‘अभिमुखीकरण पनि राम्रो लाग्यो आफै पनि मेहनती देखेर उनीहरुलाई चिया खुवाएर पठाएँ’ नारायण क्याम्पसका प्रमुख नरबहादुर शाहीले भने । नारायण क्याम्पस मात्र होइन बसन्त मावि किमुगाऊँ, सरस्वती मावि तर्ताङ्ग, त्रिवेणी मावि चुप्रा पुग्दा पनि शिक्षक, जनप्रतिनिधिले साह्रै स्राहना गरे ।
यस्ता अभिमुखीकरणको बेला अधिकार क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, नजिकको प्रहरी इकाई समेतलाई खवर गरेर किशोरी आत्मरक्षा अभिमुखीकरण अभ्यास देखाउने गरेकोले उनीहरुले समेत सहकार्यता बढाउन थालेका छन् ।
महिला तथा बाल अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको बाल हेल्पलाइन १०९८ की कार्यक्रम संयोजक रमा श्रेष्ठले आफूहरुले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा प्रसंग मिलेसम्म किशोरी आत्मरक्षा अभिमुखीकरण अभ्यास गराउन सहकार्य गर्ने बचन दिइन् ।
यौन दुव्र्यवहार र बलात्कारजन्य घटनाका पीडितहरु किशोरीहरु नै भइरहेको अवस्थामा किशोरीहरुले नै चलाइरहेको किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रमले समाज अपराध रोकथाम र सचेतनाको राम्रो काम गरेको पाएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज रुमा आचार्यले बताइन् ।
प्रहरीले पनि जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको हुन्छ । विषय बस्तु मिल्दोजुल्दो हुँदा किशोरी आत्मरक्षा अभिमुखीकरण पनि जोडेर लिने गरी जिल्ला प्रहरी कार्यालयमा सल्लाह भएको महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज आचार्यले जानकारी दिइन् ।
विद्यालय, क्याम्पस, गाउँपालिकामा किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रम गर्न सुनिताको टोली स्वयमुसेवी ढंगबाट काम गरिरहेको छ । आफूले जानेको सीप देखाउन वा सिकाउन सके श्रोत भएको बेला स्थानीय सरकार वा राज्यका निकायहरुको श्रोतमा काम गर्ने अवसर मिलोस् भनेर अहिले स्वयम्सेवी रुपमा काम गरिरहेको सहजकर्ता सुनिताले बताइन् ।
आत्मरक्षा अभिमुखीकरणमा के हो ? कसरी सिकाइन्छ ?
भौतिक रुपमा आक्रमण नगरिकनै पनि यौनजन्य आकांक्षाले गरिने अभिव्यक्ति, शारीरिक हाउभाऊ वा गतिविधिले पनि को कसले राम्रो भावना र दुराचारको व्यवहार गर्दैछ भन्ने अनुमान गर्नलाई सचेतना, सावधानी, शारीरिक आक्रमणबाट बच्न तरिका सिकाइन्छ । कुनै हालतमा बलात्कारबाट जोगिन नसके कानूनी प्रक्रिया के हो ? यसबारे पनि एउटै प्याकेजमा अनुशिक्षण गर्ने गरिएको छ ।
चार वर्ष अघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशभर विरोध अभियान चलेको बेला दैलेखमा युवा अभियान्ता सजना सुनारको अगुवाईमा मानव अधिकार सवालमा काम गर्ने व्यक्ति सम्मिलित् बालिका बचाऊ अभियानले थालेको सचेतनाले किशोरी आत्मरक्षा अभिमुखीकरणको जग बसालिएको थियो ।
युवा अभियन्ता सजना सुनार संयोजक र पत्रकार अमर सुनार सहसंयोजक रहेको ९ सदस्यीय बालिका बचाऊ अभियानले कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र कालिकोटमा समेत बिस्तार भएको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेका किडार्क नेपाल, क्याड नेपाल तथा आवाजले पनि आफ्ना सचेतना अभियानमा सहकार्य गर्दै तयार पारिदिएर सुनिता सोनी जस्ता दर्जनौं सहजकर्ताहरुले गाउँगाउँमा यी अभियान चलाइरहेका छन् ।
बालिका बचाउ अभियानले तयार पारेको पाठ्यबस्तुका आधारमा ११ चरणको किशोरी आत्मरक्षा अभिमुखीकरणमा सामान्य सांकेतिक शारीरिक छुवाईदेखि बलात्कार प्रयास भइसक्दाको समयमा आफू भन्दा बलियो मान्छेलाई के कस्ता शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरेर जोगिन सकिन्छ भनेर सिकाउने गरिन्छ ।
१. एक हातले आक्रमण गर्दा ।
२. दुई हातले आक्रमण गर्दा ।
३. एक हातले पछाडिबाट आक्रमण गर्दा ।
४. कपाल समातेको बेला ।
५. पछाडिबाट शरीरमा समातेको अवस्थामा ।
६. पछाडिबाट शरीर र हात समातेको अवस्था ।
७. पछिल्तिरबाट घाँटी समाएमा ।
८. अगाडि सम्मुखमै उभिएर आक्रमण गर्दा ।
९. अघिल्तिरबाट शरीर र हात समातेको अवस्था ।
१०. ढलाएर घाँटी थुन्न खोजेको खण्डमा ।
११. बलात्कारको उद्देश्यले आरोपितले ढलाई सकेको अवस्था ।
यी अवस्था अनुसार शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरी आफू भाग्ने वा उम्कने र घटना परिवेश अनुसार पीडितले प्रतिरोध गर्ने सीप र कौशलता बारे प्रयोगात्मक अभ्यास गराउने गरिन्छ ।
त्यस्तो अभ्यासमा आफू भन्दा जस्तो बलियो आक्रमणकारी भए पनि प्रतिरोधका अभ्यास, कला, कौशलता, छरितापन र सजगता विषय केन्द्रित गरिन्छ । आफूले गर्ने क्रियाकलाप र त्यसपछि समुदाय वा वरपरका व्यक्ति तथा निकायहरुको सहयोग र सहकार्य बढाउने बारे सीप तथा ज्ञानका कुरा किशोरी आत्मरक्षा अभिमुखीकरणमा सिकाउने गरिएको छ ।
मानव अधिकार हनन् तथा ज्यादती घटनाको अभिलेख राख्ने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सन् २०२१ अवधिमा चार सय ३० जना पीडित मध्ये २२ बयस्क महिला र १८ वर्ष मुनिका ८४ जना बालिका बलात्कृत भएका नेपाल मानव अधिकार वर्ष पुस्तकमा छापिएको छ ।
कर्णाली प्रदेशमा मात्र एक वर्षमा बलात्कृत ८४ मध्ये १९ जना दैलेखका छन्, बालिकाहरु बलात्कृत भइरहेको तथ्यांकले देखिएको आधारमा इन्सेकले अधिकार–२ परियोजनामा किशोरी आत्मरक्षा अनुशिक्षण चलाएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अधिकार–२ परियोजना कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए ।
प्रशिक्षक प्रशिक्षण तालिम दिएपछि अधिकार–२ परियोजनाको कार्यक्षेत्र दैलेखको दुल्लू, दैलेख सदरमुकाम र आठबीस नगरपालिकामा किशोरी आत्मरक्षा अनुशिक्षण प्रभावकारी रुपमा सञ्चालन भइरहेको सुनेर आफूलाई गौरब लागेको युवा अभियन्ता सजना सुनारले बताइन् ।
प्रतिक्रिया