प्रहरी दिवसमा सोसेक नेपाल सम्मानित

प्रहरी दिवसमा सोसेक नेपाल सम्मानित

दैलेख : सोसेक नेपाल सम्मानित भएको छ । ६७ औँ प्रहरी दिवस २०७९ को अबसरमा सोसेक नेपाल सम्मानित भएको हो । दिवसका अबसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा आयोजित एक विशेष कार्यक्रममा संस्था सम्मानित भएको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापालाई कदरपत्र प्रदान गरेका छन् ।

दैलेख जिल्लामा घटेका बाल विवाह, बहुविवाह, घरेलु हिंसा, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, पीडित महिला, बालबालिकाका लागि तत्काल निशुल्क कानूनी परामर्श, पुर्नस्थापनामा सहयोग पु¥याएको भन्दै प्रहरीले सोसेक नेपाललाई कदर पत्र सहित सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले संस्थाले आवश्यकता अनुसार आपत्तकालिन आश्रय सेवा उपलब्ध गराउनुका साथै विभिन्न सामाजिक विकृति विसंगति रोकथाम तथा नियन्त्रणमा समुदाय प्रहरी साझेदारी कार्यक्रममा समन्वय, सहयोग तथा सहकार्यको उच्च मुल्यांकन गरिएको बताए । उनले सोसेक नेपालबाट आगामी दिनहरुमा पनि पूर्ण सहयोगको अपेक्षा गरिएको बताए ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले संस्थाले प्रहरीसँगको समन्वय र सहकार्य गरेर विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न सफल भएको बताए । उनले संस्था सम्मानित हुनुमा सिंगो संस्थासँगै कार्यरत कर्मचारीहरुको महत्वपूर्ण योगदान भएको प्रतिक्रिया दिएका छन् ।

दिवसकै अबसरमा जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । यस्तै अमर प्रहरीका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यसैगरी प्रहरी चौकी लालीकाँडाको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्ने महेन्द्रबहादुर डांगी र जग्गा प्राप्तीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया