गुराँसको नागरिक समाजले भन्यो ‘बालबालिकाको जीवन माथी खेलवाड नगरियोस्’

गुराँसको नागरिक समाजले भन्यो ‘बालबालिकाको जीवन माथी खेलवाड नगरियोस्’

दैलेख : गुराँस गाउँपालिकाको नागरिक समाजले बालबालिकाको जीवनमाथी खेलवाड नगर्न अपिल गरेको छ । बिहीवार एक अपिल जारी गर्दै समाजले यस्तो अपिल गरेको हो । सडकमा लथालिंग अवस्थामा रहेको विद्युतको तारबाट करेन्ट लाग्दा गुराँस गाउँपालिका–४ चिसापानीकी दिपिका नेपालीको निधन भएपछि समाजले बालबालिकाको जीवनमाथी खेलवाड नगर्न अपिल गरेको हो ।

इश्वरी खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘गुराँस गाउँपालिका–४ चिसापानीको ११ वर्षिय दिपिका नेपाली गुराँस गाँउपालिकाकै वडा नं २ को गयलसेनमा रहेको मामा घरबाट फुपुको घरमा जाँदै गर्दा सडकमा लथालिग अवस्थामा रहेको विद्युत तारबाट करेन्ट लाग्दा घटनास्थलमै २०७९ कार्तिक १ गते मृत्यु भयो । उनी गुराँस गाउँपालिका–४ स्थित बालकल्याण प्राविको कक्षा ६ मा अध्ययनरत छात्रा हुन । यस्तै घटना गत वर्ष गुराँस गाउँपालिका– ५ को राउटेगल्छिना नजिकै विद्युतको पोलमा तार खिचिरहेको अवस्थामा एक्कासि करेन्ट प्रवाह हुदाँ एक जना युवाको पनि घटनास्थलमै मृत्यु भएको थियो । राज्यका जिम्मेवार निकाय र सम्बन्धित फिल्डमा काम गर्ने कर्मचारीको लापरवाहिका कारण यस्ता घटनाहरु नियमित घटिरहनुले राज्य नागरिकप्रति जिम्मेवार नभएको प्रष्ट महसुस गर्न सकिन्छ ।’

‘विकास निर्माण नियमित प्रक्रिया हो । यो सधै चलिरहन्छ । तर विकास निर्माणसँगै हुनसक्ने सम्भावित घटना र जोखिमहरुको बारेमा हामी कति सचेत छौं र हाम्रो जिम्मेवारी के हो त्यो सम्बन्धित पक्षले महसुस गर्ने कुरा हो । आज हामी देख्छौं विद्युत लाईन विस्तार गर्ने क्रममा जथाभावी विद्युतका तारहरु फालिएका छन् । भौतिक सँरचना निर्माण गर्ने स्थलमा त्यस्तै निर्माण सामाग्रीहरु राखिएको हुन्छ । सिचाईपोखरीमा परेर बालबालिकाको मृत्यु भएका घटनाहरु हामीले भोगीरहेका छौं । अझ पनि सम्बन्धित निकाय यस्ता घटनाहरुप्रति जिम्मेवार नहुनुले नागरिकप्रति राज्य गैह्जिम्मेवार रहेको बुझना सकिन्छ,’ अपिलमा भनिएको छ ।

हरेक नागरिकको बाच्न पाउने अधिकार नेपालको संविधानमै तोकिएको उल्लेख गर्दै नागरिक समाजले अनाहकमा कुनै पनि नागरिकले सजाय पाउनु हुदैन् वा कुनै नागरिकको ज्यान जान नहुने जनाएको छ । सम्बन्धित पक्षकोलागि यस्ता घटनाहरु एकाध भएपनि पिडित परिवारको लागि यी घटनाहरु सामान्य नभएको नागरिक समाजको अपिलमा उल्लेख छ । ‘विद्युत लाईन विस्तार गरिरहेको स्थानमा सुरक्षाका मापदण्डहरु अपनाउनु पथ्र्यो वा लाईन विस्तारको सूचना सर्वसाधारण नागरिकलाई दिईनु पर्थ्यो, उक्त घटनामा न्यूनतम सुरक्षाका मापदण्डहरुसमेत अपनाएको देखिदैन । यो बालअधिकारको उल्लंघन हो,’ अपिलमा भनिएको छ ।

अपिलमार्फत नागरिक समाजले कुनै व्यक्ति, संस्था वा निकायले बालबालिकाको अधिकार उल्लंघन वा बालबालिकाप्रतिको दायित्व पुरा नगरेमा त्यस्तो व्यक्ति वा संस्था वा निकायलाई कानुनी कार्वाही हुनसक्ने राज्यको नीति बमोजिम दोषिलाई कार्वाही गरी पीडित पक्षलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुहुन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया