पाठेघर खस्ने समस्या भोगिरहेका महिलाहरुले पाए गाउँमै सेवा

पाठेघर खस्ने समस्या भोगिरहेका महिलाहरुले पाए गाउँमै सेवा

बहाकोटमा सञ्चालित शिविरमा स्वास्थ्यकर्मीसँग आफ्नो समस्या सुनाउँदै एक महिला । तस्विर : हिक्मतबहादुर नेपाली

दैलेख : ठाटीकाँध गाउँपालिका–३ की गौरा पौडेल शनिवार सामुदायिक स्वास्थ्य इकाई बहाकोटमा भेटिइन् । वडामै रहेको स्वास्थ्य इकाईमा पाठेघर खस्ने समस्या पहिचान शिविर सञ्चालन गरिएको थियो । शिविरमा खटिएका स्वास्थ्यकर्मीसँग पौडेलले आफ्नो समस्या निर्धक्क साथ राखिन् । सोहि अनुसार स्वास्थ्य सल्लाहपनि पाइन् । ‘बाहिर गएर उपचार गर्न महंगो रकम खर्च हुन्थ्यो, गाउँमै सञ्चालन भएको शिविरमा सेवा पाएका छौँ,’ उनले भनिन् ‘ग्रामिण क्षेत्रका महिलाहरुले गाउँमै सेवा पाउँदा खुसी हुनुुहुन्छ ।’

उनिजस्तै स्थानीय भुवानी गौतमपनि शिविरमै भेटिइन् । घर छेउमै शिविर सञ्चालन हुँदा उनि खुसी देखिन्थिन् । सहज रुपमा स्वास्थ्य सल्लाह र सेवा नपाउँदा कयौ महिलाले अकालमै ज्यान गुमाउनु परेको उनको भनाई । ‘अहिले महिलाहरुको स्वास्थ्य समस्यालाई ख्याल गरेर शिविर आयो, महिलाहरुले गाउँमै सेवा पाएका छन्, हामी त असाध्यै खुसी छौँ,’ उनले भनिन् ।

महिलाहरुको पाठेघर खस्ने समस्या पहिचान गर्ने उदेश्यले सञ्चालन गरिएको शिविरमा गौरा र भुवानी जस्तै अन्य महिलाले समेत गाउँमै सेवा पाएका छन् । आवश्यकता अनुसार पाठेघर खस्ने समस्याको व्यवस्थापन गर्ने र पुरै पाठेघर खस्ने समस्या भोगिरहेका महिलाहरुलाई सम्बन्धित गाउँमा रिफर गर्न शिविर सञ्चालन गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रकी सिनियर अनमी लिला चन्दले आफ्नो रोग लुकाएर बसेका महिलाहरुले गाउँमै सेवा पाएको बताइन् । ‘शिविरमा महिलाहरुको पाठेघर खसेको, घाउहरु भएको, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्याहरु पहिचान भएका छन्,’ चन्दले भनिन् ‘सामान्य समस्या भएकाहरुलाई गाउँमै स्वास्थ्य सल्लाह र आवश्यक औषधी दिएका छौँ, कतिपय महिलाहरुलाई रिङपेसरी राखेका छौ, पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा पुगेका महिलाहरु भेट्टिनु भएन् ।’ सरसफाईको कमि, महिनावारी हुँदा छाउगोठ बस्ने र बालविवाह जस्ता कारणले महिलाहरु पाठेघरको समस्या झेलिरहेको चन्दको भनाई छ ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । ठाठीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बहादुर बमले गाउँमै सञ्चालन भएको शिविरमा महिलाहरुले स्वास्थ्य चेकजाँच तथा उपचार पाएको बताए । उनले वडा तहमै यस्ता खालका शिविरहरु आवश्यक रहेको बताए ।

ठाटीकाँध गाउँपालिकाको समन्वय र एइआइएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालले शिविर आयोजना गरेको हो । ठाटीकाँध गाउँपालिकाका दुई वटा वडामा एक दिने शिविर आयोजना गरिएको थियो । गाउँपालिकाको वडा नम्बर ४ गैरागाउँ र वडा नम्बर ३ बहाकोटमा शिविर सञ्चालन गरिएको हो । गैरागाउँमा ३३ र बहाकोटमा ५५ जना गरी ८८ जना महिलाहरुले सेवा पाएका छन् ।

प्रतिक्रिया