बजार अनुगमन गर्न जनशक्ति अभाव

बजार अनुगमन गर्न जनशक्ति अभाव

दैलेख, कात्तिक ९ । चाडपर्वलाई केन्द्रित गरी स्थानीय प्रशासनले दैलेखका विभिन्न बजार क्षेत्रमा अनुगमनलाई कडा पारिने जनाएको छ । प्रशासनले दैलेख बजार, दुल्लु र राजमार्ग क्षेत्रका बजारमा अनुगमन गर्न लागेको हो ।

बजार अनुगमन समितिको मंगलबार बसेको बैठकले अनुगमनलाई कडा पार्ने निर्णय गरेको घरेलु तथा साना उद्योग विकास समिति दैलेखका प्रमुख परशुराम आचार्यले बताए । उनले दैलेखमा पसलहरुमा मुल्य सूची नराख्ने समस्या प्रमुख भएको बताए । खाद्य तथा दैनिक उपभोग्य वस्तुको मुल्य सूची राख्नुपर्ने भए पनि पसलहरुमा मुल्य सूची राखेको पाइँदैन । प्रमुख आचार्यले यसअघिका अनुगमनमा धेरे जसो पसलमा मुल्य सूची नभेटिएको बताए । पसलमा मुल्य सूची नहुँदा सोझासाझा उपभोक्ता ठगिने गरेका छन् ।

प्रमुख आचार्यले अनुगमनका क्रममा मुल्य सूची नभेटिएका पसलहरुमा अनिवार्य सूची राख्न निर्देशन दिइएको बताए । उनले जिल्ला उद्योग वाणिज्य संघले दैनिक उपभोग्य वस्तु तथा तयारी पोसाकको मुल्य नतोकेकाले पनि समस्या भएको बताए । उद्योग वाणिज्य संघ अन्तर्गतका विभिन्न उपसमिति क्रियाशील नभएकाले आमउपभोक्ता मर्कामा परेको उनको भनाई छ । उपसमितिहरु क्रियाशील बने धेरै समस्या समधान हुने उनको दावी छ ।

जिल्ला प्रशासन कार्यालय अन्तगर्तको अनुगमन समितिमा प्राविधिक जनशक्ति नहुँदा पनि जिल्लामा बजार अनुगमन त्यति प्रभावकारी हुन सकेके छैन । उपभोग्य वस्तुको म्याद नाघेको तथा गुणस्तर न्युन भएको बारे जाँच गर्ने जनशक्ति जिल्लामा छैन । यस्तै औशधीलगायतका वस्तुको पनि अनुगमन गर्न कठिनाई भएको प्रमुख आचार्यले बताए । खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर जाँच गर्न सबैभन्दा ठूलो समस्या भएको उनको भनाई छ । चाडवाडका बेला सस्तो दिने बाहानामा व्यापारीहरुले गुणस्तरहिन सामान पनि बेच्ने गरेका छन् । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन जनशक्ति अभावका कारण असफल भएको छ ।

उता दशैंको अवसरमा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य वस्तुमा विशेष छुट दिने भने पनि त्यो कार्यान्वयन भएको छैन । बजारमा कतै पनि सुपथ मुल्य पसल नखुलेको एक उपभोक्ताले बताएका छन् । कुनै पनि सामानमा छुट नपाएको नारायण नगरपालिका ६ का राजन राउतले बताए ।

प्रतिक्रिया