पञ्जीकरणको काम व्यवस्थित बनाउन निर्देशन

पञ्जीकरणको काम व्यवस्थित बनाउन निर्देशन

दैलेख : नारायण नगरपालिकाका मेयर लोमन शर्माले व्यक्तिगत घटना दर्ता पञ्जीकरणको कामलाई सुव्यवस्थित बनाइराख्न सबै वडा कार्यालयहरुलाई निर्देशन दिएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा एभरेष्ट क्लवले सञ्चालन गरेको पहुँच परियोजनाले आयोजना गरेको पञ्जीकरण व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उनले त्यस्तो निर्देशन दिएका हुन् ।

हरेक व्यक्तिको पहिचान र सेवा सुविधाको लेखाजोखा राख्न सजिलो पर्ने भएकोले विवरणमा त्रुटी रहित बनाउन आवश्यक रहेको मेयर शर्माको भनाई थियो । उनले गाउँटोलमा शिविर चलाएर बैंकहरुले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आग्रह गरे । बैंकका प्रतिनिधिहरु समेत रहेको सो कार्यक्रममा नगरपालिकाले समन्वय गर्ने मेयर शर्माले वचन दिए ।

कार्यक्रममा गृह मन्त्रालयको पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन महाशाखाका शाखा अधिकृत समीर भण्डारीले नेपाल सरकारले व्यक्तिगत घटना दर्ताका पाँच काम जन्म, विवाह, बसाईसराई, सम्वन्ध विच्छेद र मृत्यू दर्ताका कार्यहरुलाई अरु सरकारी निकायहरुलाई समेत सूचना आदानप्रदान गर्न सकिने अन्तरसम्वन्धित बनाउन सहजीकरण भइरहेको बताए ।

शिशु जन्मँदा अस्पतालले अनलाइनमा इण्ट्री गरेर सम्वन्धित वडा कार्यालयलाई सूचना जाने, जन्मदर्तादेखि व्यक्तिले नागरिक तथा राष्ट्रिय परिचयपत्र लिएको विवरण एक रुपता ल्याउन एकीकृत सूचना प्रणालीमा प्रविष्ट गर्ने प्राविधिक कामहरु भइरहेको उनले जानकारी दिए ।
व्यक्तिगत घटना दर्ताका पाँच काम जन्म, विवाह, बसाईसराई, सम्वन्ध विच्छेद र मृत्यू दर्ताका कार्यहरु वडा कार्यालयले गर्ने भएकोले वडासचिवहरुले सेवालाई सहज बनाउन पञ्जीकरण विभागका शाखा अधिकृत भण्डारीले आग्रह गरे ।

बाबुको पहिचान खुल्न नसकेको, बलात्कार घटना वा बहुविवाहबाट जन्मेका बालबालिकाको जन्मदर्ता कानूनले सहज व्याख्या गरे पनि वडा सचिव असहयोगी बनेको र बसाईसराई भइसकेका व्यक्तिहरुको घटना दर्ताहरु दोहोरो पर्न सक्ने खतरा रहेकोले सावधान हुन उनले सुझाव दिए ।

प्रतिक्रिया