दैलेखबाट पाँच हजार सात सय पैंतीस परीक्षार्थी सामेल हुँदै

दैलेखबाट पाँच हजार सात सय पैंतीस परीक्षार्थी सामेल हुँदै

फाइल फाेटाे

दैलेख – आज शुक्रवारदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा दैलेख जिल्लाभरका एक सय ९ वटा विद्यालयका दैलेखबाट पाँच हजार सात सय ३५ जना परीक्षार्थी सामेल हुने भएका छन् । यो वर्ष दैलेखमा २४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिइएको छ ।

एसईई परीक्षा समन्वय समिति दैलेखका संयोजक प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन प्रशिक्षण दिई खटाइएको बताउनुभयो ।

एसईई परीक्षा समन्वय समितिका सदस्य सचिव शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रतनबहादुर बिष्टले नियमित तर्फ पाँच हजार एक सय ८१, ग्रेडवृद्धि तर्फ चार सय १२ र प्राविधिकतर्फ एक सय ४२ समेत ५ हजार ७ सय ३५ जना परीक्षार्थीले फाराम भरेको जानकारी दिनुभयो ।

परीक्षामा छात्रातर्फ ३ हजार १० जना र छात्रतर्फ २ हजार ७ सय २५ जना रहेका छन् । यस पटक छात्र भन्दा छात्रा वढी रहेका छन् । छात्र भन्दा छात्रा २ सय ८५ ले बढी छन् । छोरीलाई पनि विद्यालय पढाउने अभिभावकमा चेतना विकास भएको रुपमा आफूहरुले लिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त इकाइ प्रमुख विष्टको भनाई छ ।

फाइल फाेटाे

जिल्लाका ११ वटा पालिका मध्ये सबैभन्दा बढी परीक्षा केन्द्र नारायण नगरपालिकामा पाँच वटा परीक्षा केन्द्र कायम गरिएको छ । यसैगरी ठाँटीकाँध, भैरवी, महावु, नौमूले र भगवतीमाई गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र तोकिएका छन् । गुराँस, डुंगेश्वर गाउँपालिका अनि दुल्लू, चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिकामा चाहिँ दुई वा दुई भन्दा बढी परीक्षा केन्द्र रहेका जनाइएको छ ।

विद्यार्थी संख्याका हिसाव सबै भन्दा धेरै जिल्ला सदरमुकामको त्रिभुवन मावि दैलेखबजारबाट एक सय ५६ जना र सामुदायिक विद्यालयमा सबै भन्दा कम नौमूले गाउँपालिका५ स्थित लालीगुराँस मावि नौगाउँका १५ परीक्षार्थीले आवेदन भरेका छन् । पञ्चकोशी बेद बिद्याश्रममा दुई र सनराइज बोर्डिङ्ग स्कूलबाट तीन जना मात्र परीक्षार्थी छन् । एउटै विद्यालयबाट सय भन्दा बढी परीक्षार्थी भएको त्रिभुवन दैलेखबजार मात्र हो ।

आठबीस नगरपालिका क्षेत्रका १० विद्यालय जनज्योति मावि राकमकर्णालीमा क र ख गरी दुई वटा परीक्षा केन्द्र कायम गरिएकोले जिल्लाभर २३ स्थानमा परीक्षा केन्द्रका हिसावले २४ वटा परीक्षा केन्द्रका सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको परीक्षा समन्वय समितिका सदस्य दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिका अनुसार आज चैत्र १७ गतेदेखि २६ गतेसम्म साधारणतर्फ र चैत्र १७ गतेदेखि २९ गतेसम्म प्राविधिकधार तर्फको परीक्षा सञ्चालन हुनेछ । विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया