दुर्घटनामा एकको मृत्यू, तीन जनाको काठमाण्डौं उपचार हुँदै

दुर्घटनामा एकको मृत्यू, तीन जनाको काठमाण्डौं उपचार हुँदै

दैलेख – सुर्खेतदेखि कालिकोट तर्फ जादै गरेको क १ ज ५५ नम्बरको डबलक्याब जीप दैलेखको डाबमा भएको दुर्घटनामा घाइते १४ मध्ये चार जना गम्भीर घाइते हेलिकप्टरमा लैजाँदै गर्दा हवाई यात्रामै एक जनाको मृत्यू भएको छ ।

नेपाली सेनाको हेलिकप्टर काठमाण्डौं लैजादै गर्दा कालिकोट नरहरिनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको हवाई यात्रामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

हेलिकोप्टर काठमाण्डौं पु¥याइएका कालिकोट नरहरिनाथ गाउँपालिका–७ का सात–सात वर्षका तीन जना बालबालिका भीषण बोगटी, प्रतीक्षा बटला र बसन्त बुढा ट्रमा सेण्टरमा उपचार सुरु भएको घाइतेहरुको साथमा जानुभएका बीरेन्द्र सहकारीले ज्वालासन्देशलाई जानकारी दिनुभयो ।

भिषणलाई टाउको, प्रतीक्षाको कानमा र बसन्त बुढा खुट्टामा कडा चोट लागेको छ । उपचार सुरु भएका तीन जना मध्ये मृतक दुर्गबहादुरको छोरा भीषणको अवस्था खतरापूर्ण रहेको उपचारमा सलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

कर्णाली राजमार्ग अन्तरगत दैलेखको आठबीस नगरपालिका–१ डाबमा ब्रेक फेल भई भएको दुर्घटनामा सडकबाट अन्दाजी ५० मिटर तल कर्णाली नदी किनारामा बजारिएर चालक सहित १४ जना यात्रु सबै घाइते भएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले बताउनुभयो ।

दुर्घटना लगतै प्रहरी चौकी पाल्तडा दैलेखबाट असई थलप्रसाद ढकालको कमाण्ड घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयहरुले घाइतेहरुको उद्धार गर्नुभएको थियो । उद्धारपछि करिब ४ किलोमीटर दुरीमा रहेको साँङ्गेतडास्थित मेडिकलमा प्राथमिक उपचार गरिएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार कालिकोट नरहरिनाथ गाउँपालिका–७ कै स्थानीय बासिन्दा समेत रहेका जीप चालक २४ वर्षीय धनबहादुर बटाला समेत १० जनाको त्यहाँ उपचार भइरहेको छ ।

सुर्खेतमा अध्ययन गर्दैगरेका बालबालिकाहरुलाई परीक्षा सकेर आफ्नो गाउँ लैजाँदै गर्दा दुर्घटना भएको हो । चालक बाहेक मेडिकलमा उपचार गराएका ९ जना मध्ये ५५ वर्षीया गोपिकला बिष्ट, २० वर्षकी मनिषा बोगटी वाहेक ७ जना बालबालिका छन् ।

घाइते ७ जनामा सरद बिष्ट (१४), अखिल बुढा (६), राजकुमार बोगटी (६), स्वस्तिका बोगटी (६), कल्पना सहकारी (१२), भुवन बटाला (६) र सुबास सहकारी (१२) छन् । चालकलाई प्रहरी नियन्त्रणमा राखिएको र अरु घाइतेहरु आफन्तको साथ कालिकोट तर्फ प्रस्थान गर्नुभएको असई ढकालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया