वर्षेनी एक न एक छोरी बाबुबाट बलात्कृत !

वर्षेनी एक न एक छोरी बाबुबाट बलात्कृत !

दैलेख – बाबुले १६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ५० वर्षीय बाबु ५ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । ठीक यही समयमा ८६ वर्षका ज्येष्ठ नागरिकले नौ वर्षकी बालिका माथि यौन दुव्र्यवहार गरेको आरोप प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।

जन्मदिने बाबुबाट छोरी बलात्कार भएको र दुई वर्ष अघि ८४ दान जस्तो हिन्दू धार्मिक विश्वास अनुसार पूण्य कमाएको व्यक्ति ज्येष्ठ नागरिकले आफ्नो गुप्ताङ्ग देखाउदै नाबालिका बलात्कारको कोशिस गरेको घटनाले बालिकाहरु असुरक्षित रहेको भन्दै सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

अघिल्लो वर्ष २०७८ फागुन ५ गते दैलेख जिल्ला अदालतले १४ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा एक बाबुलाई ४३ वर्ष कैद सुनायो । २०७७ मङ्सिर १९ गते १४ वर्षीया छोरीलाई बलात्कार गरेको भनी त्यसबेला ३८ वर्ष उमेरका दैलेख सदरमुकामका बाबुलाई प्रहरीले मङ्सिर १९ गते पक्राउ गरी अनुसन्धान गरेको थियो ।

पीडित पक्षको जाहेरी, प्रहरी अनुसन्धान प्रतिवेदन समेतको आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा पेश गरेको हाडनाता करणी सम्वन्धी अभियोग सम्वन्धमा अदालतले तहकीकातबाट समेत पुष्टि भएपछि बलात्कारी बाबुलाई ४३ वर्ष कैद गरेको हो ।

हाडनाता भित्र छोरी बलात्कार घटनामा जन्मकैद अर्थात २५ वर्ष र उमेरगत हिसावले १४ की बालिका बलात्कार गरेकोमा हुने १८ वर्ष समेत गरी ४३ वर्ष कैद हुने भनी तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट सजाय भएको थियो ।
१४ वर्षकी छोरीलाई बलात्कार गरेको कसूरमा एक बाबुलाई ४३ वर्ष कैद फैसला भएको चौथो दिन २०७८ फागुन ९ गते दैलेख जिल्ला अदालतले १७ वर्षकी छोरीलाई बलात्कार गरेको अर्को एक घटनाका कसूरदार बाबुलाई ३५ वर्ष कैदको फैसला सुनायो ।

कानून अनुसार छोरी बलात्कार कसूरमा जन्मकैद अर्थात २५ वर्ष कैद र पीडित बालिकाको उमेर हेरी १७ वर्ष उमेर भएकोले १० वर्ष कैद थपेर ३५ वर्ष कैद गरिएको थियो । झण्डै २० महिना अघि २०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ मंसिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएको थियो ।

दुबै घटनामा तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पीडितलाई एक लाख रुपैंयाँ क्षतिपूर्ति भराउनुपर्ने र कसूरबाट जनही दुई हजार ८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

दैलेखमा ६ वर्ष अघि पनि ११ वर्षकी छोरी बलात्कार घटनामा ३७ वर्षीय बाबुलाई त्यस बेलाको कानून अनुसार हाडनातामा १२ वर्ष र बलात्कार कसूरमा १० वर्ष समेत २२ वर्षको कैदसंगै एक लाख रुपैंयाँ क्षतिपूर्ति फैसला भएको थियो । तत्कालिन जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले पीडित बालिकालाई राज्यकोषबाट क्षतिपूर्ति उपलब्ध गराउने आदेश अनुसार त्यतिबेलाको महिला तथा बालबालिका कार्यालयले समन्वय गरी नेपाल सरकारको पीडित राहतकोषबाट उपलब्ध गराएको थियो ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ बलात्कार पीडितको उमेर हेरी बलात्कार घटनाका कसूरदारलाई कैद, क्षतिपूर्तिको सजाय हुन्छ ।

उपदफा ३ पीडितको उमेर १० वर्ष भन्दा कम भए बलात्कार कसूरको जन्मकैद, १०–१४ वर्षका बालिका बलात्कार गरेमा १८ देखि २० वर्ष कैद, १४–१६ वर्षका बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष कैद, १६–१८ वर्षका बालिका बलात्कार गरेमा १० देखि १२ वर्ष कैद र १८ वर्ष माथिका महिला बलात्कार गरेमा सात देखि १० वर्ष कैद कैद हुने कानूनी व्यवस्था छ ।

अरुहरु मुद्दामा अदालतले गरेको कैद सजाय मध्ये ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेका आचरण सुध्रिएका कैदीहरुलाई संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस र बडादशैंको अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाह दिइन्छ तर बलात्कार मुद्दामा एक दिन पनि कैद छुट दिइँदैन ।

चलनचल्तीको भाषा बलात्कार अर्थात कानूनी भाषामा जबरजस्तीकरणी प्रकृतिका घटनाका कसूरदारलाई कैद छुट नदिइने ‘यौन हिंसा बिरुद्धका केही ऐन संशोधन गर्ने ऐन २०७९’ले व्याख्या गरेको छ । त्यसो त बलात्कार बाहेक चोरी, मानव बेचबिखन, लागूऔषध लगायतका कसूरमा पनि कैद मिनाह दिइँदैन ।

जन्मदिने बाबुबाट वर्षेनी एक न एक छोरी बलात्कृत हुने गरेको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अभिलेखीकरण हुने गरेका छन् । ‘पत्याउनै गाह्रो बाबुबाट छोरीहरु बलात्कृत हुने कुरा मोवाइलमा बिकृत र उछृंखल भिडियो तथा सामग्री हेर्ने गरेर पैदा भएका उत्तेजनाहरु प्रकट भएको हुनसक्छ’ इन्सेकको मानव अधिकार रक्षक सञ्जालका सदस्य अधिकारकर्मी सबिना बिकको प्रतिक्रिया छ ।

उहाँले भन्नुभयो ‘पहिले परिवारका सदस्यहरु भेला भएर सामूहिक सल्लाह हुन्थ्यो, हरेक सदस्यले दिनभरको सजिलो वा अप्ठ्यारोहरु सुनाउथे । परिवारका सदस्यहरु रोजगारी वा उपार्जनमा सबै व्यस्त हुने, घरमा जमघट हुँदा पनि मोवाइल झुण्डिने अनि बिकृत भावनामा पैदा भएर अत्याउनै नसकिने अपराध हुने गरेका छन् ।’

दैलेख अस्पतालका डाक्टर प्रयासराज सिजापतिले जिल्ला स्तरीय अपराध राेकथाम सम्वन्धी एउटा औपचारिक कार्यक्रममा सुनाउनुभयो एक महिला जेठाजुको साथमा उपचार गर्न आउनुभयो, सोध्दा भन्नुभयो जवाफ आयो ‘पेट दुख्छ ।’ जेठाजुलाई बाहिर पठाएर सोध्दा कुरा खुल्यो ‘श्रीमान् विदेश गएको एक वर्ष भयो, पेटमा छ महिनाको गर्भ छ ।’

डाक्टर सिजापतिले भन्नुभयो ‘हामी उपचार खोज्ने हो, यस्ता घटनाहरुमा न्यायको निम्ति काम गर्नेहरुको सम्पर्क समन्वय चाहियो ।’ बाबुबाट बलात्कृत भएर गर्भ तुहाउन पनि आउछन् । महिलाको इच्छा भए र कानूनले मिल्नेमा हामी सुरक्षित गर्भपतन गराउँछौं । समाज बिकृत भइसक्यो सबैले सुधार गरौं ।’

‘बाबुबाट, दाईभाई वा नजिकका नातेदारबाट छोरी र किशोरीहरु असुरक्षित हुनुमा समाजमा मानसिक स्वास्थ्य समस्या पनि प्रमुख कारण हो’ सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको ठम्याई छ । उहाँले भन्नुभयो ‘कपडा खोलेर सडकमा दौड्ने मात्र मानसिक समस्या होइन, मानवीय मूल्य मान्यता विपरितका छोरी बहिनी बलात्कार गर्ने सोच पैदा हुनु मानसिक स्वास्थ्य समस्या हो । विकृति र बिसंगति रोक्न सचेतना र आवश्यकता अनुसार मनोसामाजिक परामर्श अभियान चलाइनुपर्छ ।’

तर त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक डा. नन्दिता शर्मा चाहिँ फरक छ । उहाँले भन्नुहुन्छ ‘बलात्कार गर्ने भावना आउनु आचरणगत समस्या हो भन्नुुहुन्छ मानसिक रोग होइन ।’ उहाँ भन्नुहुन्छ ‘बालिकाहरुलाई सुरक्षित वातावरण चाहिन्छ ।’

परिवारकै सदस्य अँझ मुख्य अभिभावक बाबुबाट छोरी बलात्कार घटना हुनु बालिकाहरुमा यौन हिंसाको कहाली लाग्दो समस्या हो । छोरी वा बालिका बलात्कार हुनबाट जोगाउन समाजमा सबै अभिभावकलाई प्रभावकारी मनोपरामर्श जरुरी रहेको प्राध्यापक डा शर्माले आवश्यकता औल्याउनुभयो ।

‘जिल्लामा सामाजिक मर्यादा खस्केको, अशिक्षा र कानूनी ज्ञानको अभाव रहेको’ नागरिक समाजका जिल्ला संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले टिप्पणी गर्नुभयो । यस्ता घृणित अपराध रोकथाम गर्न सचेतनाको काम र अदालतबाट कडा सजाय दिएर समाजमा सचेतना बढाउनुपर्ने अधिवक्ता सिजापतिको सुझाव छ ।

प्रतिक्रिया